रुपन्देही । सामाजिक न्याय स्थापनाका लागि लैंगिक समानता र सामाजिक समावेशीकरण नीति प्रभावकारी कार्यान्वयन गर्न जरुरी रहेकामा जोड दिइएको छ ।
सञ्चारिका समुह रुपन्देहीको आयोजना तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा बुटवलमा सम्पन्न अन्तरसम्वाद कार्यक्रमका सहभागीले लैंगिक समानता र सामाजिक समावेशीकरण नीति कार्यान्वयन हुन सके समाजमा जातीय, वर्गीय, लैंगिक, भाषिक तथा क्षेत्रीय विभेद हट्ने विश्वास व्यक्त गरे ।
लैगिक समानता र सामाजिक समाबेशिकरण बिषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाजमा हिंसा मिूल पार्न महिलाहरु आर्थिकरुपमा सबल हुनुपर्ने बताउनुभयो ।
नागरिकता तथा मताधिकार समेत नपाएका महिलाहरु यो अवस्थासम्म आउन ठूलो संघर्ष गर्नुपरेको बताउँदै उहाँँले समाजको सोंच परिवर्तन गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले महिला सशक्तीकरणका लागि शिक्षा, आर्थिक उपार्जन र उद्यमशीलतालाई विशेष प्राथमिकता दिएर नीति कार्यकम बनाएको बताउनुभयो ।
सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले महिला भएकै कारण धेरै बिभेद सहनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले हिंसा विभेद अन्त्यका लागि सचेतनाका कार्यक्रमलाई नगरले प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशका सचिब दिपकराज नेपालले समाजमा विद्यमान हिंसा, विभेद र असमानता अन्त्य गर्न लैंगिक समानता र सामाजिक समावेशीकरणका पक्षमा नेपालले प्रतिवद्धता जनाएकाले प्रदेश सरकारले पनि सोही अनुसार कार्यक्रम तय गरेको बताउनुभयो ।
महिला सशक्तीकरणका लागि निर्णय प्रक्रियामा महिला सहभागिता र समताको नीति लिएको बताउँदै सबै आफ्नो जिम्मेवारी र कर्तव्यमा ध्यान दिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
लैंगिक समानता र सामाजिक समाबेशिकरण विषयक कार्यपत्र प्रस्तुत गर्दै सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले लैंगिक विभेद, जिम्मेवारी, सहकार्य र समन्वय, सुविधा प्रवाह जस्ता विषयमा महिला नेतृत्वले समेत विभेद सहनुपरेको बताउनुभयो ।
सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष नीरा गौतमले अझै पनि समाजमा पितृसत्तात्मक सोच हावी भएका कारण महिलाको अस्तित्व स्वीकार गर्न हिच्किचाउने भएका कारण यस्ता समस्या समाधानका लागि सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा इन्सेक प्रतिनिधी रिमा बिसीले अधिकांश स्थानीय तहमा मानवीय विकासमा बजेट कम भएको र लैंगिक फोकल पर्सन समेत नतोकिएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, दलित महिला संघका अध्यक्ष मनु खड्का पत्रकार टंक सुनार, उद्यमी मञ्जु भुसाल, विनोद विसी लगायतले बोल्दै सञ्चारगृह पनि समावेशी हुनुपर्ने र पछाडि पारिएको वर्गको पक्षमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सञ्चारिका समूहले घोषणा गरेको सञ्चारिका सम्मान – २०७७ बाट पत्रकार अमृता अनमोललाइ प्रदान गरिएको थियो ।