कोलम्बो । इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो ।
शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिनुभएको थियो ।
देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ । श्रीलङ्काका अधिकांश पेट्रोल पम्पहरूमा निकै लामो लाइन देखिने गरेको छ ।
श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्ने घोषणा गरेको थियो ।
सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित अधिकांश पेट्रोल पम्प बन्द छन् । लिफ्ट माग्दै मानिसहरूले आफ्नो गन्तव्यमा पुग्न खोजेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् ।
देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएको छ ।
निजी बस सञ्चालक सङ्गठनका अध्यक्ष गेमुनु विजेराट्नेका अनुसार करिब २० हजार बसमध्ये करिब एक हजार बसहरू सञ्चालन भएका छन् ।
विदेशी मुद्राको अभावले सबैभन्दा खराब आर्थिक सङ्कट ब्यहोरिरहेको यस मुलुकमा अति आवश्यक सामग्रीको आयातलाई पनि धान्न नसकेपछि दुई करोड २० लाख जनताले कठिनाइ भोग्दै आएका छन् । रासस