रुपन्देही । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बुटवलले आजदेखि बुटवल १३ स्थित नयाँ भवनबाट सेवा शुरु गरेको छ । यसअघि बुटवलको सुख्खानगरमा रहेको कार्यालय नयाँ भवन बनेपछि बेलबासमा सरेको हो ।
कार्यालय सरेसँगै सवारी चालक अनुमति पत्रको लिखीत र प्रयोगात्मक परीक्षा सहित सबै सेवाहरु एकै ठाउँबाट प्रवाह हुने कार्यालय प्रमुख तेजनारायण यादवले बताउनुभयो । कार्यालयको नयाँ व्यवस्थापनसँगै सेवाग्राहीले समयमै सेवा पाउने प्रमुख यादवको विश्वास छ ।
कार्यालयले अहिले नयाँ यातायात व्यवस्थापन कार्यविधि लागू गरी सेवा प्रदान गरेको उहाँले बताउनुभयो । अव्यवस्थित सेवा प्रणालीले गर्दा बिचौलीया हावी भएकाले नयाँ मापदण्ड लागू गरी सवारी चालक अनुमति प्राप्त गर्ने प्रक्रिया सहज बनाएको कार्यालयले जनाएको छ ।
विगतमा प्रयोगात्मक परीक्षामा शतप्रतिशत ल्याएमा मात्र उत्तीर्ण हुने व्यवस्था रहेकोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि तयार पारिएको संशाोधित कार्यविधिअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पुग्छ भने लिखितमा पुरानै व्यवस्थाअनुसार ५० प्रतिशत अंक ल्याए पुग्ने छ ।
परीक्षामा विभागले सबै प्राविधिक पक्षको आधारमा कुल अंकभार व्यवस्था भएपछि ट्रायलका लागि सहभागी परीक्षार्थीले तोकिएको अंकभार पाउँछन् । यसअघि सबै प्यारामिटरमा कुनै त्रुटि नगरी ट्रायलमा सहभागी परीक्षार्थीले मात्र अनुमतिपत्र पाउने गरेका थिए । अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेरेर माइनर प्यारामिटरमा छुट दिने गरी मापदण्ड बनाइएको छ ।