रुपन्देही । इलाका प्रहरी कार्यालय लुम्बिनीले हतियार सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
पक्राउ परेकाहरु मध्येबाट मोटरसाईकल चालक चिनक भनिने मेदि हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोला भित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको प्रहरीको भनाइ छ ।
आईतबार राती साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी युपी ५५ एडी ०६८४ नम्बरको मोटर साईकल शंका लागी पिछा गर्दै जाने क्रममा लुम्विनी – ६ बसपार्क नजिक मोटसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
मोटरसाइकल दुर्घटनामा परि तीनै जना घाईते भएकोले उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।