रुपन्देही । लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो ।
मायादेवी मन्दिर परिसरमा रहेको दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउँन सिसिटिभि क्यामेरा जडान गरी गणना शुरु गरिएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुले पवित्र ह«दयले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरि दानपेटिका सबैपक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।
दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको उहाँको भनाइ छ । चार वटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।
विगतमा दानपेटिका चोरी हुने गरेको घटना समेत बाहिरिएको थियो । तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताउनुभयो । दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला गर्ने गरिएको उहाँले बताउनुभयो ।
राजस्व शाखा, लुम्बिनि सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रतिनिधिहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो । यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो ।
१५।१५ दिनमा दानपेटिका खोल्नुपर्ने भएपनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । अघिल्लो पटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो ।