रुपन्देही । बुटवल मण्डपको नाम संसोधन गर्ने बुटवल उपमहानगरपालिकाको प्रस्तावप्रति बुटवलमा रहेका व्यवसायिक संघ संस्थाहरुको सञ्जालले असहमती जनाएको छ ।
सञ्जालको आइतवार बुटवलमा सम्पन्न बैठकले बुटवलका व्यवसायिक संघ संस्थाहरुको भावना बिपरीत बुटवलको गहनाको रुपमा बिकसित हुदै गरेको बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव फिर्ता लिन बुटवल उपमहानगर पालिकासँग आग्रह गरेको छ ।
बुटवल उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९÷ ८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बुटवल मण्डपको नाम परिवर्तनगरी गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने प्रस्ताव गरेको थियो ।
नाम फेर्ने प्रस्तावप्रति यस क्षेत्रमा रहेका व्यवसायिक संघ संस्थाहरुको बैठक पछि जारी विज्ञप्तीमा नाम फेर्ने प्रस्ताव प्रति सञ्जालको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तीमा बुटवललाई अन्तर्राष्ट्रिय पहिचान गराउने गहनाको रुपमा विकास हुँदै गरेको बुटवल मण्डपको नाम यस क्षेत्रका आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावना विपरीत एकलौटी ढंगबाट प्रस्ताव गरिनुले चिन्तित र गम्भीर बनाएको उल्लेख छ । “ सामुहिक भावना र सहकार्यको मर्मलाई वेवास्ता गर्दै एकलौटी ढंगबाट निर्णय गरिनु अधिकारको मनोमानी हो भन्ने हाम्रो ठम्याइ छ”, विज्ञप्तीमा भनिएको छ ।
सञ्जालले देशलाई आत्मनिर्भर बनाउन, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, नवीनतम् प्रविधिको खोज र अनुसन्धान गर्दै देशको कला, संस्कृति तथा पर्यटनको बिकास गर्न यस क्षेत्रका व्यवसायिक संघ–संस्थाहरुले लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी र व्यापार मेलाहरु मार्फत थालनी गरेको प्रयासलाई मूर्त रुप दिने उदेश्यका साथ बुटवल मण्डपको स्थापना भएको स्मरण गराएको छ ।
सञ्जालले बुटवलमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि आवश्यक अध्ययन, जग्गा प्राप्ति र भौतिक संरचना निर्माणमा नेपाल सरकार, बुटवल नगरपालिका यस क्षेत्रका व्यवसायिक संघ–संस्था, सँगसँगै विभिन्न राजनैतिक दल तथा नेताहरुको योगदान महत्वपूर्ण रहेको कुरा भुल्न नहुने जनाएको छ ।
बुटवलको एतिहासिक महत्वलाई नै अवमूल्यन गर्दै स्थापित राजनैतिक नेतृत्वलाई समेत बिवादमा ल्याउने गरी नामाकरण गरिनु आफैमा दुःखद भएको जनाउँदै बुटवलको ऐतिहासिक गौरव, आस्था र अन्तर्राष्ट्रिय पहिचानको आधार स्तम्भको रुपमा स्थापित बुटवल मण्डपको नाम संशोधन फिर्ता लिई आम सर्वसाधारण र व्यवसायिक संघ संस्थाहरुको भावनाको कदर गर्दै एतिहासिक र स्थापित नाम बुटवल मण्डप नै कायम गर्न सञ्जालले आग्रह गरेको नेपाल उद्योग परिसंघका लुम्विनी प्रदेश अध्यक्ष एजाज आलमले बताउनुभयो ।
बैठकमा यस क्षेत्रमा क्रियाशिल बिभिन्न २१ वटा ब्यवसायिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।