रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण संलकन कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले व्यक्तिका घटनाहरु संकलन, भण्डारण र वितरणको काम प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिनुभयो ।
गृहमन्त्री खाणले नागरिकको सामाजिक सुरक्षा पुरा गर्ने दायित्व समेत सरकारको भएकाले विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक बञ्चित हुनसक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो । “ज्येष्ठ नागरिक, दलित, अपाङ्ग, लोपोन्मुख, विधवा, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिका जस्ता उच्च जोखिममा रहनसक्ने समुहलाई लक्षित गरी सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि सही नागरिकको विवरण संकलनमा ध्यान दिनुपर्छ ।”
गृहमन्त्री खाणले नागरिकको राजनीतिक, सामाजिक व्यक्तिगत सुरक्षाको जिम्मेवारी सरकारको भएकाले यथार्थ विवरण हुन जरुरी रहेको बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने ‘व्यक्तिगत घटनादर्ता’ कार्यका साथै सामाजिक सुरक्षा अन्तर्गत ‘नगद प्रवाह’ र व्यक्तिहरुको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ ।