परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिकाको विकास र समृद्धिमा लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले सहयोग गर्ने भएको छ । फाउण्डेशनले समृद्ध सुस्ता निर्माणका लागि आवश्यक पर्ने क्षेत्रमा आवश्यक लगानी, सहकार्य र सहयोग गर्ने जनाइएको छ ।
यसका लागि गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र फाउण्डेशन स्पेनका अध्यक्ष जुसे मनुअल भिलानोभाबीच संस्थागत सम्बन्ध कायम, सहकार्य र समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको विशेष उपस्थितिमा लुम्बिनीमा उक्त समझदारीपत्रका हालै हस्ताक्षर भएको हो ।
सुस्ताको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलगायतका क्षेत्रको विकासमा उक्त संस्थाबाट आवश्यक सहयोग प्राप्त हुने गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए। “हामी केही समयअघि यो संस्थाको सदस्य पनि भएका थियौँ, कुन–कुन क्षेत्रमा लगानी गर्दा गाउँपालिकाको समृद्धि हुन्छ, त्यसमा उक्त संस्थाले लगानी गर्नेछ, यो राम्रो उपलब्धि हो”, उनले भने।
गाउँपालिकाअन्तर्गत रहेको भगवान् गौतमबुद्धले बुद्धत्व प्राप्त गर्न बोधगया प्रस्थान गर्नुअघि कपाल मुण्डन गरी गेरुवस्त्र धारणा गरेको पुरातात्विक तथा ऐतिहासिकस्थल अनोमाघाटसहित यहाँका अन्य पर्यटकीयस्थलको विकास र प्रवद्र्धन, प्राविधिक विद्यालय, अस्पताल निर्माण, आँखा अस्पताल स्थापनालगायतका विकास योजनामा सहकार्य गर्ने समझदारी भएको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए। रासस