भैरहवा-रुपन्देहीमा फरक फरक घटनामा ३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार सर्पले डसेर, करेन्ट लागेर र दुर्घटनामा परी रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको हो।
बिहीबार साँझ ७ बजे मर्चवारी–५ वडबलीया ५ वर्षिय तवरेज मुसलमानलाई सर्पले डस्दा उपचारकै क्रममा मृत्यु भएको छ। घरमा खेलिरहेको बेलामा दाहिने हातमा सर्पले डसेपछि उपचारको लागि भैरहवा स्थित भिम अस्पतालमा राती साढे ८ बजे मृत्यु भएको हो।
त्यस्तै शुक्रबार बिहान ११ बजे मायादेवी –६ बेथरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। घरमा चलिरहेको टेबुल पंखा समाउँदा अचानक करेन्ट लागेर ४० वर्षिया ईन्द्रा पासवान घाईत भएकी थिइन्।
खबर पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय बेथरीको प्रहरी टोलीले उद्वार गरी उपचारको लागि मेडिकल कलेज भैरहवा लगेको थियो। दिउसो साढे ११ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै शुक्रबार बिहान मायादेवी–६ गुरबनीयामा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।
लुम्बिनी– भैरहवा हुलाकी सडक खण्डमा शुक्रबार साँझ साढे ६ बजे लुम्बिनीबाट भैरहवातर्फ आउदै गरेको लु २ ख २१७ न.को ट्रकले ठक्कर दिँदा पैदलयात्री ३६ वर्षिया अमीरुन निसा खान घाइते भएकी थिइन्।
मायादेवी–६ गुरबनियामा बस्दै आएकी निसाको भिम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीले जानकारी दिए।