काठमाडौ। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनामा मृत्यु हुने व्यक्तिका परिवारलाई सरकारले जनही साढे पाँच लाख रुपैयाँ दिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई उक्त रकम बराबरको राहत दिने निर्णय गरेको हो। पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले गरेको हस्तक्षेपमा परी चार जनाको ज्यान गएको थियो। घटनामा दुई दर्जन बढी घाइते भएका थिए ।
यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ।