बाँके। नेपालगन्जकी नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, विरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह छन्। बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाडेको प्रहरी उपरिक्षक श्याम अधिकारीले जानकारी दिए।
उनका अनुसार सोमबार जिल्ला अदालत बाँकेबाट जारी भएको पुर्जीका आधारमा सात जनालाई पक्राउ गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान गर्न अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरीले बताएको छ।
यसअघि बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका थिए। पीडितको न्यायका लागि भन्दै नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना स्थानीयले माइतीघरमा धर्ना दिएका हुन्। उनीहरूले धोबी र कुर्मी दुवैको हत्यारालाई कारबाहीको माग गरेका छन्।