काठमाडौं-जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् ।
१२ नोभेम्बरसम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजार भन्दाबढी सहभागी हुँदैछन् । ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो । यो सम्मेलन गत वर्ष नै आयोजना हुने कार्यक्रम थियो तर, कोभिडको कारण स्थगित भएको थियो । २५औं सम्मेलन सन् २०१९ मा स्पेनमा भएको थियो ।
विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर असरलाई न्यून गर्ने विषयमा छलफल र आवश्यक रणनीति चाल्नु सम्मेलनको मुख्य उद्देश्य हो । सम्मेलनका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछन् ।
जलवायु परिवर्तनबारे पेरिस सम्झौता भएको ६ वर्षपछि विभिन्न देशले जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्नेछन् । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न कोप–२१ सम्मेलनमा सहभागी १९६ मुलुकले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका थिए ।