बुटवल। रुपन्देही प्रहरीले जारी गरेको एक विज्ञप्ती अनुसार जिल्लामा कृषि क्षेत्रमा प्रयोग हुने बिषादी प्रयोग गरेर आत्महत्या गर्नेको संख्या उच्च देखिएको छ।
चालु आर्थिक बर्षको साउन र भदौमा सल्फास, एलुमिनियम सल्फेट, अप-अल्पाइन, सिपभिटामिक बी-कम्प्लेक्स जस्ता कृषिजन्य बिषादी प्रयोग गरी जिल्लामा ९९ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरी उपरिक्षक मनोज केसीका अनुसार साउनमा ३३ जना र भदौमा ६६ जनाले त्यस्ता बिषादी प्रयोग गरी आत्महत्या गरेका थिए।
आत्महत्या उच्च हुन थालेपछि कृषिजन्य बिषादीको विक्रिवितरण गरिरहेका एग्रोभेट, भेटेनरी तथा कम्पनीहरुमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुगमन गरेको छ। प्रहरीले १०७ वटा कृषि र पशुजन्य क्लिनिक, एग्रोभेट, केन्द्र र भेटरीनरीलाई अभिलेख राख्न निर्देशन दिएको हो।
जिल्लामा आत्महत्या गर्ने व्यक्तिहरूको तथ्यांक बढेको, त्यसमा कृषि र पशुजन्य उपचारमा प्रयोग हुने विषादी सेवन उच्च देखिएकाले कडाइ थालिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।
उनका अनुसार ९ वटा इलाका प्रहरी कार्यालय, दुई वटा वडा प्रहरी कार्यालय र एउटा प्रहरी चौकी अन्तर्गत रहेका १०७ वटा विषादी बेचबिखनका क्लिनिक, एग्रोभेट र भेटरीनगरी पत्ता लागेका छन्।
रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण गर्न बनाएको 'थ्री सर्कल' कार्ययोजनाअनुरुप विषादी बेचबिखन गर्ने ठाउँहरूलाई लक्षित गरी अनुगमन गरिएको बताएको छ।