बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले देश निर्वाचनतर्फ अगाडि बढिरहेको बताएका छन्। पार्टीको स्थानीय तहको अधिवेशनका लागि गृहजिल्ला रुपन्देही आएका पौडेलले दुई भिन्दाभिन्नै कार्यक्रमलाई सम्बोधन गर्दै देश चुनावतर्फ अगाडि बढेको बताउँदै चुनाबकेन्द्रित योजना बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
तिलोत्तमा नगरकमिटीको प्रथम नगरअधिवेशन उद्घाटन गर्दै नेता पौडेलले आउँदो निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने स्पष्ट पार्दै तीनै तहमा सहजै बहुमत ल्याउने दाबी पनि गरे।
उनले भने, " एमाले सत्तारुढ पाँचदलीय गठबन्धनका विरुद्ध एमाले एक्लै चुनाव लड्छ रअघिल्लो चुनावभन्दा बढी नतिजा हासिल गर्छ। हामीले तीनै तहको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउँछौं ।’
पार्टी विभाजन नभएको दाबी गर्दै नेता पौडेलले पार्टीबाट 'केही नेता' चोइटिएर गएको बताए। त्यसको पुष्टि आगामी निर्वाचनले गर्ने उनले दाबी गरे। उनले भने, "एमाले विभाजित भएको छैन, एकतावद्ध छ, यसको पुष्टि आगामी निर्वाचनले गर्ने छ।"
त्यस्तै बुटवल उपमहानगरपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले निर्वाचनबाट तीन तहमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गर्दै देश पूर्ण स्थिरता र विकासको गतिमा अगाडि बढ्ने बताए। "एमालेले एकल बहुमतको सरकार बनाउने गरी चुनाव जितेर सिंहदरबार छिर्नेछ । त्यो लेखेर राखे हुन्छ," पौडेलले भने।
रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले भने, "एमाले कमजोर भएको छैन । एमालेलाई जित्न सकिँदैन भन्ने कुरा कांग्रेसका रामचन्द्र पौडेलले समेत भनिसकेका छन् । एमालेको शक्ति देखेर सत्तारूढ गठबन्धन नैं अत्तालिएको छ ।"