बुटवल । धुर्कोट गाउँपालिकाले पुर्ण अशक्त तथा शारिरिक रुपमा अपाङग भएका आफ्ना नगरिकहरुलाई घर घरमै पुगेर परिचय पत्र वितरण गर्दै आएको छ । यसैक्रममा धुर्कोट-२ पिपलधाराकी अनिता खड्कालाई घरमै पुगेर परिचय प्रदान गरिएको छ ।
लामो समयदेखि स्वास्थ्य उपचारमै रहेकी खड्कालाई पालिकाका उपाध्यक्ष शिव केसी नेतृत्वको टोलीले घरमै पुगेर सेवा प्रदान गरेको हो । आफै हिंडडुल गर्न नसक्ने शारिरिक रुपमा अशक्त तथा जेष्ठ नागरिकहरुलाई दैलोमै सेवा उपलब्ध गराउने उदेश्यका साथ घरमै पुगेर परिचय वितरण गरेको उपाध्यक्ष केसीले बताए। उनका अनुसार अनितालाई 'क' वर्गको परिचय पत्र प्रदान गरिएको छ ।
घरमै पुगेर कागजात लिई परिचय पत्र उपलब्ध गराएकोमा अनिताका श्रीमान विनोद खड्काले आधार प्रकट गरे । सो अवसरमा वडा अध्यक्ष नवि जिसी, नेपाली कांग्रेसका वडा सभापती घनवहादुर खड्का लगायतको सहभागिता रहेको थियो । परिचय पत्र पाएसँगै अब उनले सरकारले तोकेका विभिन्न सुविधा पाउने छिन् ।