बुटवल। आइतबारदेखि अविरल परिरेहको बर्षाका कारण लुम्बिनी प्रदेशको धानबालीमा ठूलो असर पुगेको तथ्याङ्क सार्वजनिक भएको छ।
लुम्बिनी प्रदेश सरकारको कृषि निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कले प्रदेशका १२ वटा जिल्लामा ३६ हजार ४ सय ८० हेक्टर खेतमा धानबाली डुबेको अवस्थामा रहेको देखाएको छ। त्यस्तै ९३ हजार ५ सय ७६ हेक्टर खेतमा धान ढलेको अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
निर्देशनालय प्रमुख यामनारायण देवकोटाले डुबेको धानमध्ये करिब ६५ प्रतिशत पूर्णरुपमा नष्ट हुने आंकलन गरिएको बताए। उनका अनुसार ढलेको धानमध्ये करिब २० प्रतिशत पूर्ण रुपमा क्षती हुनसक्ने आंकलन निर्देशनालयको छ। "प्रदेश सरकार गठन भएपछि धानबालीमा देखिएको सबैभन्दा ठूलो क्षती हो," देवकोटाले भने, "काटेर खेतमा राखिएका र काट्न ठिक्क परेको धानबालीलाई बर्षाले सबैभन्दा धेरै असर गरेको छ।"
प्रदेशका बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देहीका खेतमा सबैभन्दा धेरै क्षती पुगेको छ।
निर्देशनालयले मातहतका कृषि ज्ञान केन्द्रबाट संकलन गरी तथ्याङ्क सार्वजनिक गरेको हो। विवरण अनुसार प्रदेशमा ३ लाख १७ हजार ४ सय १४ हेक्टरमा धान रोपिएको थियो। त्यसमध्ये करिब एक तिहाई खेतको धानबाली बर्षाले नष्ट गरिदिएको छ। ५५ हजार ५४ हेक्टरमा भने बर्षा शुरु हुनुअघि नै किसानले धान भित्राइसकेका थिए। एक लाख ३२ हजार तीन सय चार हेक्टर खेतमा भने पानीले कुनै पनि असर गरेको छैन।
जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि नै खराब मौसमको संकेत गरे किसानहरुले सूचना नपाउँदा धानबालीमा ठूलो क्षती हुन पुगेको निर्देशनालयको ठहर छ।
प्रमुख देवकोटाका अनुसार पानी र मल समयमा नै उपलब्ध भएकाले यसबर्ष प्रदेशमा धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको थियो। "प्रतिहेक्टर ३ दशमलब ५ मेट्रिक टन धान उत्पादन हुने आंकलन गरेका थियौं। अब त्यसो हुन पाएन," उनले भने।
काटेर भित्र्याउन ठिक्क परेको धान बर्षाले क्षती गरिदिएपछि किसानहरु दुखी भएका छन्। किसानलाई क्षतिपूर्ति दिने विषयमा निर्देशनालयले छलफल शुरु गरेको प्रमुख देवकोटाले बताए। "किसानहरु निकै ठूलो मारमा परेका छन्। क्षतिपूर्तिका लागी संघ र प्रदेश सरकारसँग छलफल थालेका छौं," उनले भने।