बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारी मृत्यु प्रकरणमा समातिएका तीन जना आरोपी पूर्पक्षका लागि जेल चलान भएका छन्। आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजू हरि पौड्याल र आमाजु दिदी बिष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार रुपन्देही जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको आदेश अनुसार तिनै जनालाई पुर्पक्षको लागी कारागार पठाइएको हो ।
तिलोत्तमा ५ की सीता भण्डारी भदौ २० मा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवललले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गर्को प्रारम्भिक निष्कर्ष निकालेको थियो।
तर प्रहरीको निष्कर्ष मान्य नभएको भन्दै मृतकका माईती तथा स्थानीयले निरन्तर आन्दोलनमा छन् । सीताको हत्या भएको दाबी गर्दै सत्यतथ्य पत्ता लगाउन माग राखेका छन्। मृत्यु भएको एक महिना वित्न लाग्दासमेत सीताको शव उठेको छैन।