बुटवल। गएको शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा-५ मणिग्रामकि सिता भण्डारी (पौडेल) को मृत्यु आत्महत्याका कारण भएको प्रारम्भिक निष्कर्ष निकाल्यो।
प्राविधिक अनुसन्धानपछि मृतक सीताको आइफोनमा सुसाइड नोट भेटिएको र उक्त नोटमा देखिएको अक्षरहरुको 'प्याटर्न' यसअघि आफ्ना पति टिका पौडेलसँग भएका म्यासेजसँग मेल खान गएको देखिएपछि उनले आत्महत्या नै गरेको प्रहरीको प्रारम्भिक प्रतिवेदन थियो।
तर माइतिपक्ष भने अनुसन्धान प्रभावकारी नभएको भन्दै दिनहुँ प्रदर्शन गरिरहेका छन्। उनीहरुको भनाई छ, प्रहरी प्रशासनको मिलिमतोमा घटनालाई अन्तै मोड्ने प्रयत्न भएको छ, भएको त हत्या नै हो। प्रहरीको निष्कर्ष र त्यसपछि आएका समाचारलाई 'निराधार' भन्दै उनीहरुले अझै कडा आन्दोलन चर्काउने घोषणा गरेका छन्।
शनिबार मणिग्राममा पत्रकार भेटघाट कार्यक्रम गर्दै माईतीपक्षले कुनै पनि हालतमा सीताको मृत्यु आत्महत्या नभएको जिकिर दोहोर्याए। सीताका बाबु हरिप्रसाद भण्डारीले घटनास्थलमा देखिएको शरीरभर निलडाम रहेको, मुख बाट रगत बगेको, पासो लगाएको डोरी काटिएको जस्ता परिदृश्यले हत्याभन्दा अन्य केही संकेत नै नगर्ने दावी गरे। आफ्ना ज्वाँई पौडेलले मृत्युकै दिन सासु ससुरालाई रुदै बिहान दिएको अभिव्यक्ति, घरपरिवारको मौनतालगायतका कुराहरुले पनि छोरीको हत्या भएको पुष्टि हुने उनले बताए।
'संसारले देखेको विभिन्न प्रमाणहरु हुँदा हुँदै पनि प्रहरी र प्रशासन र हत्याराको मिलिमतोमा घटनालाई साम्य पार्न खोजिएको छ," उनले आरोप लगाए।
गत भदौ १९ गते मणिग्रामस्थित आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी सीता भण्डारीको शव अझै उठेको छैन। माइतिले घटनाको सत्यतथ्य छानवीन नहुँदासम्म शव नउठाउने माइतिपक्षले अडान लिएका छन्। मृतकका भाई सुरज भण्डारीले प्रहरीले निष्पक्ष छानवीन नगर्दासम्म शव नउठाउने अडान दोहोर्याए।
छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यहाँका प्रमुखले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो । त्यस आन्दोलनको दबावमा आएपछि आत्माहत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइएको थियो । लगत्तै आरोपित श्रीमान टीका पौड्याल, उनकी दिदी बिष्णु पौड्याल, जेठाजू हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भण्डारी मृत्यु प्रकरणको २६ दिनपछि रुपन्देही प्रहरीले सार्वजनिक गरेको रिर्पोटमा भने सीताले सुसाइड नोट लेखेर आत्महत्या नै गरेको अनुसन्धानबाट देखिएको जनाएपछि माइतिपक्षमा झनै असन्तुष्टि बढेको हो। प्रहरीले फेला पारेको नोटमा "मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न" भनि लेखिएको प्रहरीले जनाएको छ ।
माइतिपक्षले आज जिल्ला अदालत रुपन्देही घेराउ गर्ने कार्यक्रम रहेको बताएका छन्।