बुटवल-रुपन्देही, प्युठान र नवलपरासीमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ। रुपन्देहीको सैनामैना र देवदहमा दुईजनाको शव फेला परेको छ। सैनामैना नगरपालिका वडा नं. ४ कुस्माहा भाटा बस्ने ४० वर्षिय जंगबहादुर मल्लाह मृत अवस्थामा फेला परेका हुन्।
बुधवार दिउसो सवा तिन बजेको समयमा बक्सड कर्माहा स्थीत सडकमा मल्लाह मृत फेला परेको र उनको मृत्युबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ।
त्यस्तै देवदह नगरपालिका वडा नं. ७ शितलनगर स्थित मदन आश्रीत स्मृति सभाहलको बरन्डामा पहिचान नखुलेका व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी ४५/५० वर्ष उमेरको तराई मुलको जस्तो देखिने पुरुषको शव सडिसकेको अवस्थामा नाङ्गै फेला परेको र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले उक्त घटनाको थप अनुसन्धान शुरु गरेको जनाएको छ।
यस्तै बुधवार विहान ९ बजेतिर प्यूठानको ऐरावतीस्थीत झिमरुक खोला किनारमा एक महिलाको शव फेला परेको छ।
माण्डवी गाउंपालिका वडा नं. ५ की अन्दाजी ६० वर्षिय अमृता खड्का ऐरावती गाउंपालिका वडा नं. ४ धुवाङ स्थित झिमरुक खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
यस्तै नवलपरासी पश्चिमको बर्दघाटमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ। प्रदेश ५ प्रहरी कार्यालय दाङका अनुसार बुधवार विहान रुखबाट लडी गम्भिर घाईते भएका बर्दघाट नगरपालिका वडा नं. ४ नयाँबस्तिका ७० वर्षिय शेर सिंह तामाङको मृत्यु भएको हो।
घर पछाडि रहेको बकेनाको रुखको डाला काट्ने क्रममा रुखबाट लडेर घाईते भएका तामाङलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।