नेपालगञ्ज–बाँके प्रहरीले ४३ करोड हिनामिना भएको सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलाई पक्राउ गरेको छ।
नेपालगञ्जमा प्रधान कार्यालय रहेर जिल्लाका विभिन्न तीन ठाउँबाट सञ्चालनमा रहेको सहकारी बित्तीय विकास संस्था लिमिटेडमा ४३ करोड रुपैया हिनामिना भएपछि सञ्चालक समिति, कर्मचारीलगायत सम्बद्ध सबै फरार रहेका थिए।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले अध्यक्ष चौधरीलाई जमुनाहाबाट पक्राउ गरेको जानकारी दिए। ठूलो संख्याका बचतकर्ता रहेको सहकारीमा रकम हिनामिना भएपछि प्रहरीले लामो अनुसन्धान गरेर ४१ जनालाई प्रतिवादी बनाएको छ। तीमध्येमा ६ जना पुर्पक्षका लागि थुनामा छन्। धेरैजना धरौटीमा छुटेका छन्। प्रहरीले खोजी गरिरहदा २७ जना आफै अदालतमा उपस्थित भएका थिए। अध्यक्ष चौधरीसहित सात जना फरार भएका थिए।
सहकारीमा ठूलो घोटाला भएको खबर बाहिर आउने बित्तिकै प्रहरीले बैंकका माथिल्लो कर्मचारीलाई पक्राउ गरेको थियो। ती कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान चलिरहदा अध्यक्ष चौधरीले उनीहरुबाट रकम असुलेर बचतकर्तालाई बाँड्ने आश्वासन दिइरहेका थिए।
त्यो बीचमा केही रकम असुल गरेर केहीलाई बाँडियो पनि। तर, प्रहरी हिरासतमा रहेका माथिल्लोस्तरका कर्मचारीले बचन अनुसारको रकम पूरा दिन नसकेपछि अध्यक्ष र उनीहरुमा खटपट भएको थियो। पक्राउ परेका कर्मचारीबाट असुल नहुने छाँट देखेपछि अध्यक्ष चौधरी आफै भारत लागेका थिए।
आफ्नो बचत रकम पाउनु पर्ने भन्दै नेपालगञ्जमा लगातार आन्दोलन भएको थियो।