बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ कफि कम्पनीस्थित घरमा मृत अवस्थामा फेला परेकी सीता भण्डारी पौडेलको शव ८ दिन वित्दा समेत उठ्न सकेको छैन । प्रहरीले पोष्टमार्टमका आधारमा सीताले आत्महत्या गरेको बताए पनि माइति पक्ष मान्न तयार नहुँदा शव नउठेको हो ।
सीताले आत्महत्या गरेको नभई उनको हत्या गरिएको दावी गर्दै त्यसको छानविनपछि मात्रै शव उठाउने अडान लिएका छन् ।
शवको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पोष्टमार्टमको रिपोर्टमा सीताको मृत्युको कारण झुण्डिएर भएको बताइएको थियो । सोही रिपोर्टलाई आधार मान्दै सीताले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेपछि मृतकका आफन्त आन्दोलित भएका छन् । मृत्यु शङ्कास्पद भएकाले सीताको हत्या गरिएको आरोप लगाउँदै सीताका बुवा हरिप्रसाद भण्डारीले प्रहरीमा दिएको किटानी जाहेरी प्रहरीले नलिएपछि पछिल्ला ६ दिनदेखि प्रशासन विरुद्ध आफन्तले प्रदर्शन गरेका छन् ।
दबावपछि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरी अनुसन्धानका लागि सीताका पति टीका पौड्याल र पौड्यालकी दिदी विष्णु पौड्याललाई नियन्त्रणमा लिएको बताएको छ।
बाबु हरिप्रसाद भण्डारीका अनुसार सिता र टिकाबीच २ वर्षअघि मागी विवाह भएको हो । विवाह पछि उनीहरू पाल्पा तानसेनमा दि दरबार रिसोर्ट नामको होटल सञ्चालन गर्दै आएका थिए। उनीहरू दुवै जना तीजलाई भन्दै ६ गते पाल्पाबाट घर तिलोत्तमामा आएका थिए। घर एक दिन बसेपछि सिता ७ भदौमा तिलोत्तमा–४ मा रहेको माइती गएकी थिइन्। हत्या हुनु भन्दा १ दिन अघि १९ भदौमा श्रीमान् टिकाले भतिजको जन्मदिन छ भनेर सितालाई घर बोलाए।
“भतिजको जन्मदिन छ भनेर फोन गरेपछि १९ गते दिउँसो छोरी घर गएकी थिइन्,” सिताका बुवा हरि प्रसाद भण्डारीले भने ।
२० गते बिहान ५ बजेतिर टिकाले ससुरा हरिप्रसादलाई जरुरी काम छ तुरुन्त आफ्नो घर आउनू भनेर बोलाएका थिए ।
हरिप्रसाद छोरीको घर पुग्दा सीताको मृत्यु भइसकेको थियो । तर टिका घरमा थिएनन् । केही समयपछि उनी मदिरा सेवन गरेर आएको र उनले आफ्नी दिदीका कारण घरका अरु मान्छेको पनि ज्यान खतरामा रहेको बताएको हरिप्रसाद बताउँछन् ।
सीताको घाँटीको पासो काटिएको अवस्थामा थियो । सीताको मृत्युको जानकारी परिवारका अरु सदस्यलाई नहुनु, प्रहरी नआउँदै पासो काटिनु, मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ । माइती पक्षले पोष्टमार्टम रिपोर्टमा आर्थिक चलखेल गरी आत्महत्या बनाइएको आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको र हत्याको पाटोबाट पनि अनुसन्धान हुने बताए। “अहिले मृतकको पति र पतिको दिदिलाई हिरासतमा राखेर अनुशन्धान सुरु गरिएको छ । यसबाहेक अरु भन्न सकिने अवस्था छैन,” कुँवरले बताए ।
यता तिलोत्तमा नगरपालिकाले घटनालाई लिएर सबै पक्ष संयमित रहन आग्रह गरेको छ । एक सतादेखि आफन्तले घटनाको विषयलाई लिएर नगरपालिका घेराउ, वडा कार्यालयमा तालाबन्दी तथा राजमार्गमा चक्काजाम जस्ता बिरोध कार्यक्रम आयोजना गरेपछि नगरपालिकाले स्थानीयस्तरमा क्रियाशील राजनीतिक दल र जनप्रतिनिधिको संयुक्त बैठक बसी घटनाको छानबिनमा सहयोग गर्ने निर्णय गर्दै संयमता अपनाउन आग्रह गरेको हो ।