बुटवल । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति(सीसीएमसी)ले 'स्मार्ट लकडाउन' को तयारी थालेको बताएको छ ।
उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी पटक-पटक दिइरहेको छ । सङ्क्रमण नियन्त्रण गर्न र अर्थतन्त्रलाई चलायमान राख्न प्रभावकारी रणनीति अपनाउँदै स्मार्ट लकडाउनको अवधारणा कार्यान्वयनमा ल्याउन लागेको सीसीएमसी प्रमुख बालानन्द शर्मा बताउँछन् ।
सरकारले गर्ने भनेको 'स्मार्ट लकडाउन' जोखिम र आवश्यकता अनुरूप भिन्न भिन्न भूभागमा गरिन्छ, जहाँ संक्रमण दर वा संक्रमणको जोखिम उच्च छ ।
जहाँ बढी सङ्क्रमित छन् त्यहाँ बढी कडाइ हुन्छ। जहाँ सङ्क्रमण दर धेरै छैन त्यस ठाउँलाई चलायमान राख्ने योजना अनुरुप यसको अवधारणा ल्याइएको शर्मा बताउँछन् ।
सबै क्षेत्र ठप्प नपारी कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको अवधारणा नै 'स्मार्ट लकडाउन' हो। सीसीएमसीले यसमा सङ्क्रमणको जोखिम र प्रभावलाई ध्यानमा राख्दै निषेधाज्ञामा कडाइ या खुकुलो गरिने जनाएको छ।
यस अवधारणालाई कार्यान्वयन गर्न देशका विभिन्न भागलाई उच्चदेखि न्यून जोखिमका आधारमा पाँच वर्ग - रेड, एम्बर, एल्लो, ग्रीन र ह्वाइट जोन - भनिन्छ।
कुन क्षेत्र कुन जोन अन्तर्गत पर्छ भन्ने विषयको तय सङ्क्रमण दर, अघिल्लो साताको सङ्क्रमण दरसँगको तुलनात्मक विश्लेषण, सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या, सङ्क्रमणका कारण अस्पताल भर्ना भएका एवम् आईसीयू र भेन्टिलेटरसम्म पुगेका बिरामीको सङ्ख्याको आधारमा हुने शर्माले जानकारी दिए।
सङ्क्रमण दर र त्यसको प्रभाव हेरी निषेधाज्ञामा कडाइ गर्ने जिम्मेवारी स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको हुन्छ ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि ७५ वटा जिल्लामा निषेधाज्ञा गरिएको थियो। गृह मन्त्रालयको तथ्याङ्क अनुसार हाल ५६ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ।
रुपन्देहीमा हाल शैक्षिक संस्थाहरू ठप्प छन्। सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्टलगायत मनोरञ्जन स्थल, स्वीमिङ पुल, , सङ्ग्रहालय, रङ्गशालामा दर्शक सहितको खेलकुद निषेध थियो।
त्यस्तै भिडभाड हुने कार्यक्रम, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न नपाउने आदेश थियो। पुजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाउने नियम छ।
संक्रमणको दर र जोखिम हेरेर लकडाउनलाई थप कडाई गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । हाल रुपन्देहीमा ४५६ जना सक्रिय संक्रमित रहेका छन् ।