बुटवल-देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमि भू–भागमा तराई नजिक रहेको छ । यस्तै पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिणतिर न्यून चापीय रेखा रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली बनेको र त्यसको प्रभाव पनि परेको मौसमविदले बताएका छन् ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।