रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि थपिएको छ । सोमबार दिउँसो बसेको डिसीसीएमसीको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता साहयक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
तीज नजिकिदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको छ । कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी भएको थियो । संक्रमणदर घट्दै गएपछि असारबाट निषेधाज्ञा क्रमश खुकुलो गर्दै लगिएको छ । अहिले व्यापार व्यवसाय तथा यातायात सबै सुचारु भइसकेका छन् ।
पर्वलाई लक्षित गर्दै हुने सामुहिक कार्यक्रममा कडाई गरिने छ भने यस अघि जारी भएको आदेशलाई निरन्तरता दिने निर्णय जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले गरेको प्रवक्ता पौडेलले भने ।