बुटवल- रुपन्देहीमा जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठक बस्दै छ। बैठकमा जारी खुकुलो निषेधाज्ञालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल हुँदैछ।
कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट जिल्लामा निषेधाज्ञा जारी भएको थियो। संक्रमणदर घट्दै गएपछि असारबाट निषेधाज्ञा क्रमश खुकुलो गर्दै लगिएको छ। अहिले व्यापार व्यवसाय तथा यातायात सबै सुचारु भइसकेका छन्। विद्यालयमा भौतिक उपस्थितीमा कक्षा सञ्चालन भने अझै भएको छैन।
आज अपरान्ह ४ बजे बस्ने डीसीसीएमसीको बैठकमा विद्यालयमा भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्ने बारेमा पनि छलफल हुन लागेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। ‘डीसीसीएमसीको बैठकमा विद्यालयमा भौतिक उपस्थितीमा कक्षा सञ्चालन गर्ने सम्बन्धी एजेण्डा छ ।’ उनले भने ‘विद्यालय खुल्छन् कि खुल्दैनन्, खुले पनि कुन मापदण्डमा खुल्छ बैठकपछि नै थाह हुन्छ।’
विद्यालय सञ्चालकहरुले भने ग्रामीण क्षेत्रका विद्यालय खोल्न सरकारलाई दबाव दिँदै आएका छन्। विद्यालय खोल्नको लागि आफूहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिसँग अनुरोध गरेको प्याबसन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले बताए।
‘शहरमा त अनलाईनमा पढिरहेका छन्। ग्रामीण क्षेत्रमा बालबालिकाहरु सडकमै खेलीरहेका छन्। संक्रमण अवस्था पनि त्यती धेरै छैन ।’ उनले भने ‘मापदण्डको पालना गरेर आलोपालो गरि कक्षा सञ्चालन गर्न तयार छौ। यही कुरा हामीले जिल्ला प्रशासन र समन्वय समितिमा कुरा राखेका छौं।’ गाउँतिरका अभिभावकको चाहना पनि थोरै संख्यामा विद्यालयमै कक्षा सञ्चालन होस् भन्ने रहेको पौडेलले बताए ।