बुटवल -रुपन्देहीमा गत आर्थिक वर्ष २०७७/७८ मा १० हजार ५ सय ७९ जनाले वंसजको आधारमा नयाँ नागरिकता प्राप्त गरेका छन्। जस मध्ये ५ हजार ४ सय ९० जना पुरुष र ५ हजार ८९ जना महिला रहेका छन्।
त्यस्तै ४ हजार ७ सय ९६ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। बंसजको नयाँ नागरिकता पाउने अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा २७ सयले बढेका छन्।
तर बैवाहिक अंगिकृत र अंगिकृत नागरिकता पाउनेको संख्या भने केही घटेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा ९ सय ४८ जनाले बैवाहिक अंगिकृत नागरिकता प्राप्त गरका थिए । अघिल्लो आर्थिक वर्ष २०७६ ७७ मा बैवाहिक अंगिकृत नागरिकता पाउनेको संख्या १ हजार ४ सय ३८ रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारीले दिने अंगिकृत नागरिकता १६ जनालाई वितरण गरिएको छ। अघिल्लो आर्थिक वर्षमा २६ जनाले अंगिकृत नागरिकता पाएका थिए।
अर्काे मुलुकबाट विवाह भएर नेपालमा आएका महिलाले बैवाहिक अंगिकृत नागरिकता पाउने व्यवस्था छ। अंगिकृत नागरिकता पाउने भने अर्को मुलुकको नागरिकता त्यागेको, नेपाल १५ वर्षदेखी बसोबास गरेको, केही गरि बसेको र नेपाली भाषा राम्रोसँग बोल्न र लेख्न जानेकालाई प्रमुख जिल्ला अधिकारीले आवश्यक ठानेमा अंगिकृत नागरिकता दिन सक्ने व्यवस्था संविधानमा छ। कोरोना महामारी र सिमानाकामा कडाइ भएकाले गत आर्थिक वर्षमा बैवाहिक अंगिकृत र अंगिकृत नागरिकता पाउनेको संख्या घटेको हो।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट गत आर्थिक वर्षमा ३ हजार ६ सय ३९ जनालाई राहदानी वितरण गरिएको छ । कार्यालयबाट ४ हजार २७ वटा राहदानी सिफारिस भएकोमा ३ सय ९८ वटा अझै वितरण हुन बाँकी छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले ५ सय २६ वटा राहदानीको लागि द्रुत सिफारिस गरेको थियो ।