बुटवल- रुपन्देहीमा सक्रिया संक्रमितको ५ सयको नजिक पुगेको छ । आइतबार साँझसम्मको तत्यांक अनुसार जिल्लामा ४ सय ५७ जना आइसोलेसनमा रहेका छन्। असार महिनामा कमी आएकाे संक्रमण दर फेरी बढ्न थालेकाे हाे।
कोरोना संक्रमण दर तिब्र रुपमा बढेर ५ सय भन्दा बढि भएपछि बैशाख १६ गतेबाट निषेधाज्ञा रुपन्देहीमा जारी भएको थियो । जेठ मसान्तसम्म अत्यावश्यक काम बाहेक आवत जावत गर्न नपाइने गरि कडाइ गरिएको थियो। बैशाख र जेठमा कोभिडको कारण धेरैले ज्यान गुमाए ।
बैशाख मसान्तमा कोरोनाको संक्रमणदर उच्च विन्दुमा थियो। बैशाख २९ गते मात्र रुपन्देहीमा ९ सय ७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । बैशाख ३१ गते जिल्लामा सक्रिय संक्रमित संख्या ७ हजार ४ सय ७४ जना थिए। यसै दिन मात्र रुपन्देहीमा १८ संक्रमितको मृत्यु भएको थियो।
निषेधाज्ञाका कारण जेठ पछि क्रमश दैनिक संक्रमणदर र सक्रिय संक्रमितको संख्यामा कमी आउँदै गयो। असार ११ गतेसम्म आउँदा सक्रिय संक्रमितको संख्या २ सयमा झरेको थियो । दैनिक संक्रमण दर पनि २० को आसपासमा देखिन्थ्यो । दैनिक मृत्युदर पनि सुन्य थियो।
संक्रमणमा कमी आएपछि असारबाट निषेधाज्ञा क्रमश खुकुलो हुँदै गयो। व्यापार व्यवसाय, यातायात पनि सुचारु भए। निषेधाज्ञा खुकुलो भएपछि अहिले फेरि संक्रमणदर फेरि बढ्न थालेको छ। अस्तालमा पनि कोरोना संक्रमणका विरामीहरु बढिरहेका छन्। रुपन्देहीका अस्प्तालमा जिल्ला भित्रका १ सय १ जना र बाहिरका १३ जना गरि १ सय १४ जना संक्रमितल उपचाररत छन्। अस्पतालका आइसियु र एचडियु पनि कोरोना संक्रमितले भरिएका छन्। आइतबार साँझ सम्मको तथ्यांक अनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । ५ सय पुगेमा फेरि निषेधाज्ञामा कडाइ हुन सक्ने चर्चा चलेको छ ।
प्रजिअ तामाङ भन्छन् : पहिले मापदण्डमा कडाई, नभए निषेधाज्ञामा कडाइ
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने निषेधाज्ञामा कडाइ गर्न भन्दा पहिले जनचेतना र मापदण्ड पालनामा कडाइ गर्ने जानकारी दिए। ‘विरामी चाँही बढेकै छन्। यसलाई निषेधाज्ञा लगाएर थप कडाइ गर्ने भन्दा पनि त्यो भन्दा पहिले हामी मापदण्ड पालनामा जाने छौं।’उनले भने ‘जस अनुसार माक्स वितरण, माक्सको बारेमा जनचेतनामुलक कार्यक्रम गर्ने छौं। उद्योग वाणिज्य संघ र प्रहरीहरु यस अभियानमा लागिरहनुभएको छ।’
त्यसै गरि एन्टिजेन परिक्षणलाई पनि बढाउने प्रमुख जिल्ला अधिकारी तामाङले बताए। उनले बढि भिडभाड हुने ठाउँमा एन्टिजेन परिक्षण गरिने जानकारी दिए । ‘भिडभाड र आवत जावत बढी हुने ठाउँमा एन्टिजेन परिक्षण गर्छौ। हिजो जिल्ला प्रसासनमा गर्यौ, आज मालपोतमा गर्दै छौं। तामाङले भने ‘बस, अस्पताल र सुपरमार्केटहरुमा पनि परिक्षण गर्ने तयारी गरेका छौं।’
मापदण्ड पालनामा कडाइ गर्दा पनि संक्रमणदर नघटेमा निषेधाज्ञामा कडाइ गरिने प्रमुख जिल्ला अधिकारी तामाङले बताए। ‘बढि भिडभाड हुने ठाउँमा मापदण्डको पालना गराउने र एन्टिजेन परिक्षण गर्छौ। त्यसरी पनि संक्रमणदरमा कमी नआए अन्तिम उपाय निषेधाज्ञामा कडाइ नै हो।’ जिल्ला प्रशासन कार्यालय रुपन्देहीको पछिल्लो आदेश अनुसार खुकुलो गरिएको निषेधाज्ञाको अवधि साउन मसान्त सम्म रहेको छ।