सरोज ढुङ्गेल
काठमाडौँ । केही दिनयता देशभर कोभिड–१९ बाट सङ्क्रमितको हुनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । अघिल्लो दिनसम्म तीन हजारको हाराहारीमा रहेको कोभिड सङ्क्रमण बुधबार अप्रत्यासित रूपमा बढ्दा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि सम्बन्धित विज्ञहरूले यसलाई कोभिड–१९ को तेस्रो लहरको सुरुवात भएको बताएका छन् । उनीहरुले खोपलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
तेस्रो लहरको सुरुवात
वरिष्ठ भाइरोलोजिष्ट डा. वासुुदेव पाण्डेले नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरु भएको भन्न मिल्ने बताए । सरकार र नागरिकको लापरबाहीका कारण कोभिड बढेको भन्दै उहाँले नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रमा सतर्क हुनुपर्ने र उचित पहल गर्नुपर्ने बताए । कोभिड बढ्नुको प्रमुख कारणबारे डा. पाण्डेले भने, सरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन हुनु, राजनीतिक दलका व्यक्तिहरूले नाराजुलुस र विभिन्न सभा सम्मेलन गर्नु, नागरिकले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन नगर्नु नै प्रमुख कारण हुन् ।
“हाल सहर बजारमा कोभिडलाई बेवास्ता गर्दै नागरिक निर्धक्क हिँड्न थालेका छन्”, वरिष्ठ भाइरोलोजिष्ट डा. पाण्डेले भने– “सार्वजनिक सवारीसाधनमा हिँड्दा मास्क नलगाउने तथा ठेलमठेल गरेर आउन जाने गरेका छन् । यसले झन् समस्या पार्दैछ ।”
लकडाउनले मात्र नियन्त्रण हुन्न
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक समेत रहनुभएका डा. पाण्डेले लकडाउनबाट मात्र कोभिड नियन्त्रण नहुने बताए । देशको आर्थिक अवस्था चलायमान गर्न पनि लकडाउन गर्न नहुने भन्दै उहाँले सवारीसाधनमा जोरबिजोर गर्ने, गाडीमा धेरै मानिस नचढ्ने, कार्यालयमा फरक फरक समय काम गर्ने गरी लकडाउनमा जान सकिने धारणा राखे ।
जनस्वास्थ्यका मापदण्ड प्रभावकारी ढङ्गले पालना गर्ने हो भने सङ्क्रमण दरलाई घटाउन सकिने डा. पाण्डेको भनाइ छ । लकडाउनमा जाँदा रोजगारी गुमेका व्यक्तिहरूको जिम्मा राज्यले लिनुपर्ने उनले बताए ।
जापान, अस्ट्रेलियालगायतका विकसित देशमा यदि लकडाउन भएको अवस्थामा रोजगारी गुमेकाहरूलाई राज्यले सात सय डलरसम्म दिने गरेको छ, डा. पाण्डेले भने-"नेपालमा भारी बोक्ने भरियाहरू काम नपाएर भोकै मर्ने स्थिति छ । यस्ता वर्गलाई राज्यले हेरिदिनुपर्छ ।" यस्तै वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले तेस्रो लहरको स्थिति देखा परेको भन्दै त्यसलाई सामना गर्न तयारी अवस्थामा रहनुपर्ने बताए । तेस्रो लहर आइसकेको भन्न नमिल्ने भन्दै उनले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय कोभिडप्रति हेल्चक्र्याइँ गर्न थालिएको धारणा राख्दै उनले खोप केन्द्रबाटै कोभिडको सङ्क्रमण बढ्ने जोखिम रहेको बताए ।
खोपको महाअभियान आवश्यक
सरुवा रोग विशेषज्ञ डा. पुनले कोभिडविरुद्धको खोपको महाअभियान सञ्चालन गर्नुपर्ने बताए । जति पनि खोपहरू उपलब्ध छन्, त्यसलाई यथाशीघ्र लगाउने काम गर्नुपर्ने उनो भनाइ छ । कोभिड खोपले मात्र बच्न सकिने भन्दै डा. पुनले खोपलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।