बुटवल । रुपन्देहीको शुद्धोधनमा ठूलाे लगानीमा आलुका तयारी परिकार उत्पादन गर्ने उद्योग निर्माण गरिरहेको फर्स्ट च्वाइस फूड्स प्रालिले आलु उत्पादक किसानहरुसँग अन्तरक्रिया थालेको छ ।
उद्योगमा कच्चा पदार्थका रुपमा ठूलो परिमाणमा आलु चाहिने हुँदा धेरैभन्दा धेरै किसानलाई आलु उत्पादनमा जोड्नका लागि अन्तरक्रिया थालिएको कम्पनीका सञ्चालक कृष्णप्रसाद पौडेलले बताए ।
लुम्बिनी प्रदेशका तराईका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका स्थानीय किसान, कृषि सहकारी तथा जनप्रतिनिधिहरुसँग अन्तरक्रयाको थालनी भएको हो । सोमबारदेखि थालनी भएको अन्तरक्रियाका कार्यक्रमहरु रुपन्देही र कपिलवस्तुमा सम्पन्न भइसकेका छन् ।
उद्योग सञ्चालन हुँदा प्रतिघण्टा ३० टन आलु आवश्यक पर्ने कम्पनीको अनुमान छ । उक्त परिमाणको आलु उत्पादनमा स्थानीय किसानलाई संलग्न गरी विदेशबाट हुने आलुको आयातलाई निरुत्साहन गर्ने र स्वदेशकै किसानहरुको जिवनस्तर उकास्ने लक्ष्य कम्पनीको रहेको छ ।
नेपालमा हाल भारत र बेल्जियम लगायतका देशहरुबाट बार्षिक १७ अर्ब रुपैयाँको आलुका तयारी परिकारहरु नेपालमा आयात हुने गर्दछन्, जसबाट ठूलो रकम विदेशिने गरेको छ ।
आलु र आलुका परिकारको आयातलाई निरूत्साहन गरि स्वदेशमा नै उत्पादन गर्ने हेतु आलु वालीमा आधारित उद्योग खोल्न लागिएको उद्योगी पौडेलले जानकारी दिए । उनले स्वदेशको खपतका लागि मात्रै नभई विदेशमा निर्यात गर्नसमेत पहिलो बर्षमा १० हजार टन आलुका परिकार उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।
उद्योगका बारेमा जानकारी दिंदै उनले भने-"पहिलो बर्ष फ्रेन्च फ्राइज उत्पादन गर्ने छौं । अर्को बर्षबाट बर्गर, समोसा, टिक्कीलगायतका आलुका परिकार उत्पादन गर्छौं । जर्मन प्रविधिको मेसिनबाट उत्पादन हुने यी परिकारहरू स्वदेशी खपतका लागि मात्र होइन, दुवई,मलेसिया, भारत, पाकिस्तान लगायतका देशमा पनि निर्यात गर्ने छौं ।" उनका अनुसार उद्योगलाई आवश्यक पर्ने आलुको उत्पादन प्रक्रिया र बजारिकरणमा कम्पनीले किसानलाई प्रत्यक्ष सहयोग गर्नेछ ।
त्यसका लागि कम्पनीले सोमबार उद्योग निर्माणस्थल शुद्धोधन गाउँपालिकामा जनप्रतिनिधिसहित किसानहरु र कृषि सहकारीहरुसँग अन्तरक्रिया गरेको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले उद्योगको स्थापनासँगै गाउँपालिकाका किसानहरुका लागि ठूलो मौका आएको बताए । उनले भने-'उद्योग दुहुनु गाई बनेर आएको छ, जति सक्नुहुन्छ किसान साथिहरुले दुहुनुहोस् ।' गाउँपालिकाले किसानहरुलाई आलु उत्पादनसँग जोड्न सकेको सहयोग गर्ने उनले प्रतिवद्धता पनि जनाए ।
त्यस्तै साेही दिन कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विष्णु पन्थीले ठूला कृषि उद्योगलाई सहज हुने खालका नीति बनाउनु पर्नेमा जोड दिए । उनले किसानहरुको जिवनस्तरसँग जोडिएर उद्योग सञ्चालन हुनुपर्ने बताए ।
यस्तै मंगलबार तिलोत्तमा नगरपालिकाका कृषक समूह, कृषि सहकारी, किसान तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा तिलोत्तमाका नगरप्रमुख वासुदेव घिमिरेले उद्योगले लिएको लक्ष्यसँग किसानको भविष्य जोडिएकाले आलु उत्पादनको अभियानमा जोडिन किसानहरुलाई आग्रह गरे । त्यसका लागि नगरप्रमुखको हैसियतले गर्नसक्ने सहयोग गर्ने आफू प्रतिबद्ध रहेको उनले बताए ।
अन्तरक्रियामा किसानहरुलाई आलु वालीबारे जानकारी गराइरहेका विज्ञ श्यामप्रसाद ढकालले किसानहरुलाई आलुको महत्व र यसको व्यवस्थित उत्पादनले उनीहरुको जिवनस्तरमा पार्नसक्ने सकारात्मक प्रभावबारे जानकारी गराए । कार्यक्रममा बोल्दै उनले खाद्यसुरक्षाका हिसाबले नेपालमा आलु वालीको भूमिका निकै ठूलो रहेको बताए । यद्यपि, ठूलो परिमाणमा विदेशबाट आयात गर्नु पर्ने वाध्यता भने नहटेकाले आलु उत्पादनमा किसानहरु प्रोत्साहित गर्नु पर्ने उनको बुझाई छ । त्यसका लागि कार्य योजनासहितको रणनीति लिएर उद्योग किसानहरुसमक्ष आएको उनको भनाई थियो ।
उनले भने-"नेपालमा फ्रेन्च फ्राइजका लागि उपर्युक्त जात छैनन् । ती जातहरु ल्याएर टिस्यु कल्चरद्वारा यहीँ बिउ उत्पादन गर्न सकिन्छ । त्यसका लागि हामी सक्षम छौं । उन्नत् जातको बिउ ल्याएर १६ टनको ठाउँमा ३२ टन आलु उत्पादन सक्षम छौं।"
कार्यक्रममा बोल्दै कम्पनीका व्यवस्थापक अनिष कुमार खड्काले कम्पनीको लक्ष्य नेपालका हरेक डिपार्टमेण्टल स्टोर तथा साना-ठूला सबै पसलमा उत्पादनहरु सरल र सुपथ मुल्यमा उपलब्ध गराउनु रहेको बताए । उनले आलु उत्पादनका लागि किसानलाई आवश्यक पर्ने प्राविधिक र उत्पादन पछिको बजारीकरणमा कम्पनीले उल्लेख्य सहयोग गर्ने बताए ।
उनले भने-"हाम्रा उत्पादनलाई राष्ट्रिय अन्तराष्ट्रिय ब्राण्डको रूपमा स्थापित गर्नु कम्पनीको उद्धेश्य रहेको छ । आलुको उत्पादनले बजार नपाएको गुनासो पनि छ । किसानले उत्पादन गरेको आलु पुरै कम्पनिले खपत गर्नेछ । कम्पनीले आलुको मूल्य बजारनियोचित दिने छ ।"
कम्पनीले अझैं केही दिन लुम्बिनीका पश्चिमी तराईका जिल्लामा रहेका स्थानीय सरकार तथा किसानहरुसँग अन्तरक्रिया गर्नेछ । त्यसका लागि टोली अहिले बर्दियामा छ ।
२०८० सम्म ५० हजार परिवारलाई आलुखेतीमा लगाइने
आगामी बैशाखमा उद्योग सञ्चालन हुनभन्दा पहिले नै किसानहरुलाई आलु खेतीमा लगाउने फर्स्ट च्वाइस फुड प्रालिले तयारी गरेको छ । पहिलो वर्ष ६ सय हेक्टरमा आलु उत्पादन गर्ने प्रालिका सञ्चालक उद्योगी कृष्णप्रसाद पौडेलले बताए। ‘धान काट्ने वित्तीकै किसानहरुलाई आलु खेतीमा लगाउँछौं । ४ देखी ५ हजार किसानले पहिलो वर्ष आलु उत्पादन गर्नेछन्।’ उनले भने ‘हामीसँग बाहिरबाट आएको ७० टन विउ किसानहरुलाई दिन्छौं।’ त्यो आलुबाट उत्पादित विउ अर्को वर्ष धेरै किसानहरुमा पुर्याउने पौडेलले बताए।
दोस्रो वर्ष २० हजार घरपरिवारलाई आलु खेतीमा लगाउने प्रालिको तयारी छ । २०८० पछि ४० देखि ५० हजार परिवारले उद्योगकै लागि व्यवसायिक आलु खेती गर्नेछन् ।
मुलुकभित्रकै किसानहरुको जिवन स्तर उकास्ने र उत्पादन सुरक्षित गर्ने उदेश्यले उद्योग स्थापनासँगै किसानहरुलाई आलु खेतीमा लगाउन लागिएको पौडेलले बताए। ‘किसानहरुलाई हामीले नै आलुको विउ उपलब्ध गराउँछौं । प्राविधिक पनि हाम्रै हुन्छन्। मल पनि दिन्छौं,’ उनले भने, ‘उहाँहरुले उत्पादन गरेपछि बजारीकरणको लागि कहाँ लैजाउँ के गरौं भन्ने समस्या भएन। हामी आफ्नै ट्रकमा उठाएर लैजान्छौं ।’
जर्मनीको इमा कम्पनीको प्रविधिमा शुद्धोधन गाउँपालिकामा आलु जन्य परिकारको उद्योगको प्लान्ट निर्माण हुन लागेको छ । उद्योगको निर्माणको लागि एक अर्ब भन्दा बढि लागत लाग्ने पौडेलले बताए। "सुरुवातमा एक अर्ब भन्दा बढि लागत लाग्छ । आलु खेती विस्तार हुँदै जाँदा २०४२ सालसम्म छ तीन चार अर्ब नै लागत लाग्न सक्छ," उनले भने ।