काठमाडौं-राजश्व अनुसन्धान विभागले भन्सार छलेको आरोपमा रुपन्देहीको एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक विरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।
सिद्धार्थनगर-९ को उक्त मोबाइल सेन्टरका सञ्चालक विष्णु ज्ञवालीविरूद्ध सात करोड ५० लाख ८६ हजार १०३ रुपैयाँ बिगो माग्दै विभागले उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार ज्ञवालीले भन्सार छलेर मोबाइल ल्याई बेचेको कसुरमा अनुसन्धान थालिएको थियो। त्यसरी ज्ञवालीले ५ करोड ५ लाख ७२ हजार ७९२ रुपैयाँका मोबाइल बेचेको आरोप विभागको छ।
यस्तै, झन्डै दुई करोड रुपैयाँका मोबाइल मौज्दात थिए। फर्ममा रहेका मोबाइलहरू गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको अनुसन्धानबाट पत्ता लागेको विभागको दाबी छ।
ज्ञवालीले पेस गरेको वित्तीय विवरणमा आय लुकाएको, मोबाइल बिक्री गर्दा बिल बिजक नै प्रयोग नगरेको, भन्सार चोरी पैठारी गरी अधिक मात्रामा मौज्दात देखाएर अवैध बिल बिजक जारी गरेको पाइएको विभागको दाबी छ।
विभागले बिगो बराबरको जरिवाना र तीन वर्ष सजाय माग गरी मुद्दा दायर गरेको छ।