काठमाडौं-सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा गराएर घिसिङलाई ल्याउने तयारी सरकारले गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार लुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी छिन्।
प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ।
यसअघि विद्युत प्राधिकरणलाई नाफामा लैजाने र लोडसेडिङ हटाउने काममा नेतृत्व गरेका घिसिङलाई ल्याउन सामाजिक सञ्जालबाट समेत दबाब सिर्जना भइरहेको छ। पछिल्लो समय लोडसेडिङ बढ्न थालेको भन्दै सरकारको आलोचना हुन थालेपछि सरकारले घिसिङलाई ल्याउने सोंच बनाएको हो।