दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका वडा नं २ राप्लास्थित मालघाटमा भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकालीमा तुइन काटिदिएपछि नदी तरिरहेका एक जना बेेपत्ता भएका छन् ।
तुइनबाट नदि तर्ने क्रममा तुइन काटिएपछि माल खानदानका ३५ बर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन् ।
सदरमुकाम खलंगा आउँदैं गरेका उनी तुइन चढेर खोला तरिरहेका थिए ।
महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रसिह धामीले बताए ।
भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो उनले भने, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी वेपत्ता भएका हुन् ।
“पाँच/छ जना स्थानियहरु सामान लिन भारतको बाटो हुदै दार्चुला आइरहेका थियौं” धामीले भने, “जयसिह तर्ने बेला एसएसबी पुगेर तुईन काटिदिए । भारत पांगलमा रहेका एसएसबीले तुईन काटि दिएका हुन् ।”
धामी वेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन् । "म काठमाण्डौ जान आउँदै थिए," विक्रमले भने,"हामी नपुग्दै तुइनकाटिदिए पछि उनी वेपत्ता भए । अहिले खोजी गर्दैछौं ।"
नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरु दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तरेर आउनुपर्ने बाध्यता छ । तुईनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् ।
बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भएपनि स्थानीयले लुकाई छिपीले तुइन लगाउने गरेका छन् । अहिले घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए ।