बुटवल-रूपन्देहीका स्थानीय तहले गरीब तथा विपन्न परिवारलाई राहत वितरण गर्न थालेका छन्।
बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई राहत बितरण थालेका हुन्। लक डाउनको कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्धेश्यले गरिब तथा विपन्न मजदुरहरुको लगत संकलन गरि दैनिक उपभोग्य सामग्री राहत स्वरुप वितरण गरिएको हो। बुटवलमा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवीको लगत संकलन गरिएको छ।
सोही संख्याका आधारमा उपमहानगरपालिकाले राहत प्याकेज समेत बनाएको छ । प्रारम्भिक तथ्यांकअनुसार छ हजार पाँच सय घरपरिवार राहतका लागि सहयोगापेक्षी रहेको पाइएको छ । उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाले सिफारिस गरेका र वडा कार्यालयले प्रमाणीकरण गरेर संकलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको ५६ औं बैठकले राहतका लागि कार्यविधि समेत पारित गर्दै राहतको प्याकेज बनाएको प्रमुख सुवेदीले बताए । उपमहानगरले राहत सामग्री वितरण कार्यविधि-२०७६ बनाउँदै व्यवस्थित रुपमा राहत वितरणको काम अगाडि बढाएको छ ।
अहिले संकलित तथ्यांकअनुसार सबैभन्दा धेरै वडा नम्बर ११ मा रहेका छन्। जहाँ दुई हजार पाँच सय घरपरिवारले दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएको उपमहानगरपालिकाले जनाएको छ सबैभन्दा थोरै वडा नम्बर १८ मा एक सय घरपरिवार मात्रै रहेका छन्।
दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने र अहिले लकडाउनको बेलामा काम बन्द भएर आपतमा परेका श्रमिकको परिवारलाई दस दिन पुग्ने अनुमान गर्दै १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन तत्कालै उपलब्ध गराउनेगरि कार्यविधि बनाएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।
यस्तै मंगलबारदेखि सिद्धार्थनगरमा पनि वडा नम्बर १ बाट शुरु भएको राहत बितरण कार्यक्रम नगरको १३ वटै वडामा गरिने नगरपालिकाका अधिकृत यादव प्रसाद सापकोटाले बताए ।
मंगलबार १ सय ३९ जनाको घरधुरीलाई सिद्धार्थनगर पालिका भैरहवा रुपन्देहीले दैनिक जीवनमा अति आवश्यक खाद्यान्न सामग्री प्रदान गरेकोछ ।
सिद्धार्थनगर पालिकाको कार्यपालिका बैठकले चार दिन अगाडि नगरमा रहेका बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाइ राहत दिने निर्णय अनुसार राहत बितरण शुरु भएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए ।
परिवार संख्याको आधारमा दिइएको उक्त राहत सामग्री चार जनाको परिवार हुने घरधुरीलाइ ५ केजी चामल, दस जनाको सम्म परिवार हुने घरधुरीलाइ १० केजी चामल दिइएको नगर उपप्रमुख उमा काफ्लेले बताईन् ।
तिलोत्तमा नगरपालिकाले पनि केही दिनअघिदेखि विपन्न परिवारलाई राहत दिन थालेको थियो।