काठमाडौ-कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन सरकारले एक साता (चैत्र २५ गतेसम्म) नेपालभरि नियमित आवागमनमा लगाइएको रोकलाई लम्ब्याउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपाल टेलिभिजनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमनमा लगाइएको रोक तथा सङ्क्रामक रोग नियन्त्रणका लागि यसअघि जारी गरिएको आदेशलाई चैत्र २५ गते मध्यरातसम्म निरन्तरता दिइएको बताए।
उनका अनुसार सरकारले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा विभिन्न मन्त्री तथा सबै सुरक्षानिकायका प्रमुख भएको एउटा विशेष संयन्त्र गठन गरिएको छ।
उक्त संयन्त्रले अहिलेसम्म स्थापित सबै संयन्त्र र समितिले गरेका निर्णय कार्यान्वयन गर्नेछ। साथै सरकारले कोरोनाभाइरस प्रकोपका कारण अर्थतन्त्रमा देखिएको समस्यालाई दृष्टिगत गर्दै राहतसम्बन्धी निर्णय गरिएको उनले बताए। सरकारले सङ्क्रमण रोकथाममा सर्वसाधारणले दिएको साथ र समर्थनका निम्ति धन्यवाद दिएको छ।
त्यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समन्वय समितिको बैठकमा त्यसबारे छलफल भएको थियो। समितिमा रहेका अधिकांश मन्त्रीहरूले लकडाउन लम्ब्याउने पक्षमा धारणा राखेको जानकारी दिइएको थियो।