काठमाडौं । नायिका तथा निर्माता जेनी कुँवरको मृत्यु अघि लेखेकाे (सुसाइड नोट) फेला परेकाे छ । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ । बिहीबार राति ८.०० बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा नायिका कुँवरले झुण्डिएकाे अबस्थामा मृत फेला परेकी थिइन् ।
नायिका कुँवरको शव फेला परेको ठाउँमा प्रहरीले पत्र (सुसाइड नोट) भेटेको प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ । उक्त पत्रमा ‘मेरो मृत्युमा कसैको दोष छैन । प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला,’ भनि लेखिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त नयाँ वानेश्वरका अनुसार पत्रमा आत्महत्या गर्नुको कारण लामो समयदेखि बिरामी रहेको, मानसिक अवस्था ठीक नभएको र जति औषधिले पनि केही काम नगरेको उल्लेख छ । डेढ पृष्ठ लामो सुसाइड नोट कुँवर आफैंले लेख्नु भएकाे हाे वा होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
यद्यपी प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का उठाएर नायिका जेनी कुँवरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ ।
नायिका जेनि पछिल्लो सयम साधुको अवतारमा पशुपति मन्दिर परिसरमा बिताउने गर्थिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर जेनी युट्यूवमा भाइरल भएकी थिइन् ।
‘जिन्दगानी’ नामका फिल्मबाट अभिनय यात्रा शुरु गर्नुभएको कुँवरले मैदान, जीवनदाता, कानुन, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका थुप्रै चलचित्रमा अभियान गरेकी थिइन् ।
प्रहरी वृत्त नयाँ वानेश्वरका अनुसार प्रहरीले श्रीमान मनबहादुरसँग घटनाबारे सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयानका अनुसार एक वर्षदेखि जेनी डिप्रेसनमा हुनुहुन्थ्यो र औषधि सेवन गर्दै आइरहुनभएको थियो । प्रहरीले जेनीको मृत्युबारे थप अनुसन्धान गरिरहेको प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ । गोपबाट