दाङ । लुम्बिनी प्रदेशका मन्त्रालयहरु स्थायी राजधानी सर्न थालेका छन् । स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट ग्रामिण तथा शहरी विकास मन्त्रालयले आजदेखि औपचारीक रुपमा कामकाज सुरु गरेको छ । प्रदेश राजधानी क्षेत्रमा स्थापना हुने यो पहिलो मन्त्रालय हो ।
सरकारले केही हप्तामा नै आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थायी राजधानी सार्ने तयारी गरिरहेको छ । ती मन्त्रालयबाहेक प्रदेश सभाको आउँदो हिउँदे अधिवेशन पनि स्थायी राजधानीदेखि सञ्चालन गर्ने तयारीमा सरकार रहेको छ । पूर्वाधार विकास प्राधिकरणको कार्यालयलाई यसअघि नै दाङमा लगिसकिएको छ ।
प्रदेश सभाको बैठकबाट राजधानी र नाम टुंगो लागेको नौ महिना पछि सरकारले स्थायी राजधानीमा मन्त्रालय तथा कार्यालयहरु स्थायी राजधानी सर्न लागेका हुन् ।
आज ग्रामिण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानीदेखि काम काज सञ्चालन गरेको अवसरमा बोल्दै मुख्यमन्त्री शंकर पोख्रेलले राजधानी कार्यान्वयनको लागी मन्त्रालय स्थापना गरेर काम सुरु हुनु आफैमा ऐतिहासिक काम भएको बताए ।
टेलिफोन मार्फत कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले राजधानी कार्यान्वयन र व्यवस्थीत बनाउन मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका हुन् ।
‘स्थायी राजधानीको नामाकरण र राजधानीको नाम टुंगो लगाएपछीको यो ऐतिहासिक कार्य हो’मुख्यमन्त्री पोख्रेलले भने–‘व्यवस्थित राजधानी शहर बनाउने योजना अनुरुप पूर्वाधार निर्माणको काम पनि थालनी हुन्छ ।’
मौसम प्रतिकुलताका कारण भौतिक रुपमा उपस्थित हुन नसकेपनि मुख्यमन्त्री पोख्रेलले टेलिफन मार्फत सम्वोधन गरेका थिए ।
प्रदेश सभाको हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । उनले भने,‘प्रदेश सभको हिउँदे अधिवेसन स्थायी राजधानीबाट सुरु हुन्छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले संसद भवनको निर्माण गरिरहेको छ ।’
गरेर कामकाज सुरु गरिनु ऐतिहासिक भएको ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले बताएका छन् । ‘स्थायी राजधानीमा मन्त्रालय स्थापना गरेर काम सुरु गर्ने ऐतिहाँसीक कामको सुरुवात गरेर जिम्मेवारी निर्वाह गर्न पाउदा हर्षित छु,’मन्त्री रिजालले भने–‘अब स्थायी राजधानीमा अन्य दुई वटा मन्त्रालय स्थापनाको काम पनि सुरु गरेका छौं ।’
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पनि राजधानीमा स्थापना गरेर कामकाज थालनीको योजना बनेको मन्त्री रिजालले जनकारी दिए । ‘अवको दश–पन्ध्र दिन भित्र ती मन्त्रालय ल्याउन चाहन्छौं । यसका लागी नागरिक स्तरबाट सहयोगको खाँचो छ’उनले भने–‘मन्त्रालय स्थापना गर्नको लागी चाहिने सबै प्रकारको वातावरण तयारमा यहाँहरु संग सहकार्य आवश्यक छ ।’
ग्रामिण तथा शहरी विकास मन्त्रालयले राजधानी कार्यान्वयन र व्यवस्थापनको लागी नेतृत्वदायी भूमिका निर्वाह गर्ने आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । ‘राजधानी तोकेका प्रदेश भन्दा लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको सवालमा अघी छ,’उनले भने–‘छिटो मन्त्रालय स्थापना गरेर काम थालनी गर्नुको पछाडी राजधानी कार्यान्वयन गर्न ढिलाई गरिनुहुदैन भन्ने प्रमुख सन्देश हो ।’
ग्रामिण तथा शहरी विकास मन्त्रालयको खानेपानी तथा सरसफाई स्वच्छता, भवन आवास तथा शहरीकरण, र पर्यटन प्रर्वद्धन तथा विकास गरी तीन क्षेत्र प्रमुख जिम्मेवारी क्षेत्र रहेको मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले जानकारी दिए । राप्ती गाउँपालिकका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी कार्यान्वयनको लागी प्रदेश सरकारले चालेका कदमहरु महत्वपूर्ण रहेको बताए । राजधानीको लागी एक हजार ६ सय ५१ विगाह जग्गा प्रदेश सरकारलाई उपलब्ध गराउनेगरी पालिकाबाट सिफारिस भएको जानकारी दिए ।
![](https://www.lumbinitimes.com/uploads/editor/207959336_280301213876730_7052634181663015757_n.jpg)
![](https://www.lumbinitimes.com/uploads/editor/213024185_491788582190810_1839024285390154960_n.jpg)