नयाँदिल्ली- कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण भारतको नयाँदिल्लीमा एक महिलाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। शुक्रबार (१३ मार्च) ती महिलाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
६८ वर्षीया ती महिलामा मधुमेह र रक्तचापको पनि समस्या थियो। कोरोनाको संक्रमण र अन्य स्वास्थ्य समस्याका कारण उनको मृत्यु भएको भारतको आरएमलएल अस्पतालले जानकारी दिएको छ। ५ देखि २२ फेब्रुअरीसम्म उनी विदेशको यात्रा थिइन्।
स्विजरल्यान्ड र इटाली हुँदै २३ फेब्रुअरीमा उनी भारत फर्किएको प्रदेश सरकारले जनाएको छ। भारत फर्किएको भोलिपल्टै उनलाई ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या देखिएको थियो।
दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा उनलाई ७ मार्चमा अस्पताल भर्ना गरिएको थियो।
कोरोनाको नमुना परीक्षण गर्ने क्रममा ८ मार्चमा उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ। ९ मार्चदेखि ती महिलालाई निमोनिया भएको र श्वासप्रश्वासमा समस्या भएको उल्लेख गरिएको छ। यसपछि उनलाई आरएमएलको इन्टेन्सिव केयर युनिटमा सारिएको थियो।
समस्या बढ्दै गएपछि १३ मार्चमा उनको मृत्यु भएको हो। मृतक महिलाको सम्पर्कमा आएका सबै मानिसको स्वास्थ्य परीक्षण भइरहेको र उनीहरुलाई अलग राखिएको दिल्ली सरकारले जनाएको छ। भारतमा हालसम्म ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
यसअघि कोरोना भाइरसको संक्रमणका कारण १० मार्चमा भारतको कर्नाटकको कलबुर्गीमा एक जनाको मृत्यु भएको थियो। मृत्यु हुने ती व्यक्ति ७६ वर्षीय थिए।