बुटवल-प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले सर्वसहमतिबाट नै राजधानी र नामाकरण टुंगो लाग्ने बताएका छन्। उनले राजधानी र केन्द्र तोक्ने जस्तो विषयमा हतार गर्न नहुने भन्दै पाको र गहन ढंगले अध्ययन गरी घोषणा गर्ने तयारीमा रहेको बताए।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवल आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री केसीले प्रदेश राजधानीका लागि तीन वटा क्षेत्र दावेदारीमा आएको भए पनि सवैलाई पायक पर्ने गरी निर्णय हुने बताए। “राप्ती अन्चलको राजधानी तुल्सिपुर, लुम्बिनी अन्चलको राजधानी बुटवल र भेरी अन्चलको राजधानी नेपालगन्ज जस्ता क्षेत्रहरुले दावेदारी पेश गरेका छन् । हामी सवैलाई न्याय हुने गरी नै राजधानी निर्धारण गर्दछौँ ।” उनले भने । उनले राजधानीको बारेमा अनावश्यक भ्रम नफैलाउँन पनि आग्रह गरेका छन ।
साक्षात्कारमा बोल्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल राजनीतिक क्षेत्रमात्र नभई इतिहाससँग जोडिएको क्षेत्र भएकाले बृहत्तर बुटवल नै राजधानी बन्ने बताए । “भर्जिन स्थानको खोजी हुदैछ, जुन रुपन्देहीको विकल्प हुन सक्दैन । त्यस्तो स्थान कनेक्टीभिटी नभएको, एयरपोर्ट नभएको वा पुर्वाधार विहिन स्थान हुन सक्दैन् । नयाँ स्थानमा बनाउँदा ५० बर्ष लाग्न सक्छ । त्यसले समय मात्र होइन स्रोत समेतमा वाधा ल्याउँछ ।” उनले भने ।
साक्षत्कारमा बोल्दै प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले राजधानी र नामाकरणले प्रदेशको कार्यसम्पादनमाथि नै प्रश्न चिन्न उठेको बताए । “कार्यकाल अवधि मै प्रस्ताव नआउने पो हो की भन्ने आसंका पैदा भएको छ, उनले भने— “प्रदेशको आधारभुत काम भने कै प्रदेशको राजधानी र नामाकरण हो, त्यही नै दुई बर्ष सम्म भएन । यसमा सरकारको सक्षमता कति भन्ने प्रष्ट भएको छ ।” उनले बुटवल कर्मचारी आउन एक बर्ष लाग्यो अव अन्यत्र लैजाँदा कर्मचारी जान तयार ह’न्छन् वा हुदैन ? प्रश्न गर्दै बुटवल क्षेत्र नै उपयुुक्त हुने ठोकुवा गरे ।
त्यस्तै समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डे संघीय स्तरका नेताहरुबाट प्रदेशको राजधानी र नामाकरणका सन्दर्भमा निर्देशन दिनु गलत भएको बताए । उनले राजधानीको विषय प्रदेशसभा सदस्यहरुको अधिकार क्षेत्र भएकाले पार्टीको ह्यीप लगाउनु उपयुुक्त नहुने धारणा राखे । भर्जिन ल्यान्डका नाममा बन्जर क्षेत्रमा राजधानी बनाउन नहुने उनको तर्क छ । साक्षात्कार, क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।