बुटवल- सैनामैना नगरपालिका रुपन्देहीको सालझण्डीमा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र स्थापना भएको छ।
१ करोड ११ लाख ५० को लगानीमा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको निर्माण गरिएको हो। भवन निर्माणको लागि स्थानिय सरकारबाट सहयोग प्राप्त भएको थियो । साथै महायज्ञ संचालन गरी भवन निर्माणको लागि सहयोग रकम संकलन गरिएको थियो।
करिब १० कट्ठा क्षेत्रफल रहेको सैनामैना–१०, सालझाण्डीको बनकट्टीमा स्थापना गरिएको सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको भवन निर्माणमा साविक सालझण्डी गाविस, सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, भुपुसैनिक सालझण्डी लगायत व्यक्तिगत सहयोग पनि उठाईएको थियो।
बुधबार भवनको उद्घाटन गरेता पनि नियमित उपचार सुरु हुनको लागि अझै करिव १ देखि २ महिना लाग्ने बताईएको छ। सरकारी विशेषज्ञ डाक्टरलाई आवासीय सुविधा नै उपलब्ध गराएर २४ औं घण्टा सेवा उपलब्ध गराउने तयारी गरेको सैनामैना नगरपालिकाले जनाएको छ।
सालझण्डीमा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको स्थापनाले सैनामैना नगपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका र छिमेकी जिल्ला पाल्पाको सेवाग्राहीहरलाई सहज हुने भएको छ। यस भन्दा अघि सर्पले टोकेको खण्डमा बुटवल प्रादेशिक अस्पाताल तथा भैरहवा भिम अस्पतालमा जानु पर्ने बाध्यता थियो।
सालझण्डी स्वास्थ्य चौकीले बुधबार देखि नै सेवा सुरु गरेको छ। २ तले भवनमा भुई तल्लामा स्वास्थ्य चौकीको कार्यालय र माथिल्लो तल्लामा सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्रको कार्यालय रहने छ । कार्यालयको नजिकै विशेषज्ञ डाक्टरको लागि आवासीय भवनको निर्माण पनि गरिएको छ।
भवन निर्माण गर्नको लागि स्थानिय समाजसेवी मिन प्रसाद घिमिरेको अध्यक्षतामा समिति गठन गरिएको थियो भने स्थानिय समाजसेवी इन्द्र बहादुर जिसीको संयोजकत्वमा भवन निर्माण उप–समितिको गठन गरी भवन निर्माण सम्पन्न गरिएको हो।