कपिलवस्तु – पूर्वसभामुख कृष्णबहादुर महराले आफुलाई राजनैतिक चलखेल गरेर फसाउन झुटो आरोप लगाएको दाबी गरेका छन्।
बुधबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढी रमुवा दहमा आफन्त भेट्ने क्रममा महराले राजनीतिक चलखेलबाट फसाउन खोजेपनि जनताले आफुलाई विश्वास गरेको बताए।
राष्ट्रिय स्वाधिनताको मुद्धामा अडान लिएका कारण पदबाट हटाउन आफु माथि झुटो आरोप लगाएको उनले बताए।
उच्च अदालतले निर्दोष सावित गरेपछि आफ्नो घरपरिवार र आफन्तजनसँगको भेटघाटमा व्यस्त रहेका महरा शिवराज ९ शिवगढीमा आफ्नो फुपुफुपाजुलाई भेट्न पुगेका थिए। शिवगढीमा महरा आउने भनेपछि स्थानियले महरालाई स्वागत गरेका थिए।
युद्धकालमा शिवगढीमा बास बसेको सम्झदै पूर्वसभामुख महराले शिवगढीमा पुनः आउने वाचा २८ वर्ष पछि पूरा भएको बताए।
रोल्पा, प्यूठानबाट बसाईसराई गरी आएकाहरुको बाहुल्यता भएको शिवगढीमा विकास निर्माणमा आफुले विशेष ध्यान दिने महराले बताए।
विकास निर्माण र पार्टीसँग जोडिरहन आग्रह गर्दै वडा अध्यक्ष चुरबहादुर खड्का र नगर अध्यक्ष दिनेश पुनसँग जोडिएर विकास निर्माणमा लाग्न उनले आग्रह समेत गरे।
वडा अध्यक्ष चुर बहादुर खड्का जीवनको निवासमा चियापानपछि आफन्त भेट्न शिवगढी पुगेका महराले आफुलाई जेलमा रहँदा दश हजार जना भेट्न आएको बताए। पूर्व सभामुख महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढा मगर, नेकपा शिवराज नगरकमिटी अध्यक्ष दिनेश पुन, जिल्ला सचिवालय सदस्य मिना परियार, वडा नं. ९ का वडा अध्यक्ष चुरबहादुर खड्कालगायत नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए।