गुल्मी–रुपन्देहीको तिलोत्तमा नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।
सामाजिक तथा आर्थिक विकास—निर्माणका असल अभ्यास र सामाजिक, सांस्कृतिक अनुभवको आदानप्रदान गर्नेगरी दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो।
मुसिकोटको वामीटक्सारमा आयोजित एक कार्यक्रमबीच दुवै नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटाले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे।
नयाँ दुवै नगरपालिकाका लागि यो पहिलो भगिनी सम्बन्ध हो । यसबाट मुसिकोटको कृषि र तिलोत्तमाको औद्योगिक उत्पादन बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने ती नगरको विश्वास छ।
तीव्र शहरीकरण भैरहेको तिलोत्तमामा मुसिकोट र आसपासका पालिकाबाट बसाइसरी जानेको उच्च चाप छ। भगिनी सम्बन्ध कायमले दुवै नगरपालिकाका बासिन्दाबीच जनस्तरबाट थप भातृत्व र भावानात्मक सम्बन्ध कायम हुने जनप्रतिनिधिहरुको विश्वास छ।
मुसिकोट नगरपालिकाले भगिनी सम्बन्ध कायमका लागि तिलोत्तमालाई गत मंसिर २६ गते औपचारिक पत्र पठाएकोमा तिलोत्तमा कार्यपालिकाले यससम्बन्धी निर्णय पुस १० गते गरेको थियो। दुवै कार्यपालिकाको निर्णयअनुसार तिलोत्तमाको टोली वामीटक्सार पुगेर औपचारिक रुपमा भगिनी सम्बन्ध कायम भएको हो।
कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा र मुसिकोटबीच धेरै हिसाबले सामिप्यता रहेकोले जनस्तरबाट कायम हुनेगरी भगिनी सम्बन्ध स्थापित गरिएको बताए। भगिनी सम्बन्ध अनन्तसम्म रहने उल्लेख गर्दै उनले अनुभव आदानप्रदानका हिसाबले तिलोत्तमा र मुसिकोटबीच प्रगाढ सम्बन्ध रहने विश्वास व्यक्त गरे।
मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटाले कृषि उत्पादनको बजारीकरणमा मुसिकोटले तिलोत्तमाको साथ खोजेको बताए। उनले मुसिकोट पृष्ठभूमि भएकाहरुको ठूलो हिस्सा तिलोत्तमामा रहेकोले मुसिकोटको आर्थिक तथा सामाजिक विकासमा उनीहरुको भूमिकालाई भगिनी सम्बन्धले सहज बनाउने उल्लेख गरे।
तिलोत्तमा उपप्रमुख जागेश्वरी चौधरीले दुई नगरपालिकाबीचको असल अभ्यासका अनुभवले दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। मुसिकोट उपप्रमुख कमला शर्मा गौतमले मुसिकोट र तिलोत्तमा गाउँ—वेशी रहेको चर्चा गर्दै आपसी सम्बन्ध बलियो बनाउन भगिनी सम्बन्ध कोशेढुंगा सावित हुने बताइन्।
त्यसअवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाका सचिव लक्ष्मण खनाल, नेकपा मुसिकोटका नेता जीवन खरेल, नेपाली काँग्रेस मुसिकोटका नेता झविलाल भण्डारी, तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, मुसिकोटका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारी, तिलोत्तमाका प्रवक्ता सुरेन्द्र श्री, मुसिकोट वडा नं. ८ का वडाध्यक्ष नारायण प्रसाद सापकोटालगायतले बोलेका थिए।