बुटवल–बुटवल उपमहानगरपालिकालाई लैंगिक हिंसामुक्त बनाउने रणनीतिक कार्ययोजना सार्वजनिक भएको छ।
उपमहानगरपालिकामा बिहीबार एक कार्यक्रमका बीच मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सदस्यहरु भोजप्रसाद श्रेष्ठ, थानकुमारी थापा, विमला पन्थी, दीपा विश्वकर्मा, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख एवम् लैंगिक हिंसामुक्त नगर कार्यदलका संयोजक गुमादेवी आचार्य र प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मालगायतले संयुक्त रुपमा कार्ययोजना सार्वजनिक गरेका हुन्।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उपमहानगरमा क्रियाशिल संघ संस्था, जनप्रतिनिधि, कर्मचारी तथा कार्यक्रममा उपस्थित आमन्त्रितहरुलाई लैगिक हिंसा नगर्ने र हुन नदिने प्रतिबद्धता सहितको सपथ खुवाएका थिए।
प्रमुख सुवेदीले सहभागीहरु सबैलाई लैंगिक हिंसामुक्त बुटवलको कार्ययोजना कार्यान्वयनमा साझा प्रतिबद्धता गराउँदै साझा प्रतिबवद्धता कार्यान्वयनमा सहकार्य गर्न आह्वान गरेका थिए । बुटवललाई लैंगिक हिंसामुक्त नगरका रुपमा स्थापित गर्ने अभियान स्वरुप उपप्रमुख आचार्यको संयोजकत्वमा २०७४ साउन २५ गते आठ सदस्यीय कार्यदल गठन गरिएको थियो।
सोही कार्यदलले विभिन्न संस्था, प्रतिनिधि, अगुवा, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, लैंगिक अल्पसंख्यक तथा सरोकारवालाहरुसँग चरणबद्ध छलफल गर्नुका साथै सुझाव संकलन गर्दै यो रणनीतिक कार्ययोजना तयार पारिएको संयोजक तथा बुटवलकी उपप्रमुख आचार्यले जानकारी दिइन्।
रणनीतिक कार्ययोजना सार्वजानीक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुटवलले महत्वपूर्ण कामको सुरुआत गरेको बताए । उनले कार्ययोजनालाई कार्यान्वयन गर्नका लागि सबैले आ–आफ्ना घरैदेखि र आफैदेखि सुरुआत गर्न जरुरी रहेको उल्लेख गर्दै साझा अभियानले नै पीडितलाई न्यायसंगै समाजमा पुनस्थापित हुन सहयोग पुग्नेमा जोड दिए।
अन्धबिश्वास र कुरितीका कारण लंगिक हिंसाका घटनाहरु हुने गरेको र कैयौं घटनाहरुमा पीडितले आफु पीडामा परेको थाहा नपाउनेसम्मको अवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अशिक्षा, कुरिती, कुसंस्कार र हिंसाजन्य परम्परालाई अन्त्य गर्न जरुरी रहेको बताए।
प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठ र अर्का सदस्य थानकुमारी थापाले बुटवल उपमहानगरले महत्वपूर्ण कार्यक्रमको सुरुआत गरेको भन्दै अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । उपप्रमुख आचार्यले सरोकारवालाहरु सबैको सहकार्यमा कार्यान्वयनलाई प्रभावकारी बनाइने बताउँदै अनुगमन र निगरानीका कामहरु पनि निरन्तर गरिने बताइन्।
कार्यक्रमस्थलमा राखिएको प्रतिबद्धतापत्रमा मुख्यमन्त्री पोखरेलसहित सहभागीहरुले हस्ताक्षर गरेर लैंगिक हिंसाविरुद्धको अभियानमा सरिक हुने साझा प्रतिबद्धता गरेका थिए।
बुटवल उपमहानगरले सार्वजनिक गरेको रिपोर्टका अनुसार बुटवलमा एक आर्थिक वर्षमा एक सय २९ लैगिक हिंसाविरुद्धका घटनाहरु दर्ता भएको उपमहानगरकी महाशाखा प्रमुख तुलसा अर्यालले जानकारी दिइन्।