दाङ-रुकुम पूर्वबाट दाङको सैघामा चराउन ल्याएका भेडाहरु उपचार नपाएर मर्न थालेका छन ।
चिसो छल्न र चराउन भन्दै रुकुमको भुमे गाउँपालिका १ लुकुमबाट ५ सय बढी भेडाहरु घोराही उपमहनगरपालिका १९ सैघाको पाँचपोखरीमा ल्याईएको हो ।
यही माघ ९ गते भेडाहरु ल्याईएको र १० गते देखी भेंडा धमाधम मर्दै गएपछि घोराही उपमहानगरको पशु सेवा शाखा र भेटेनिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको प्राविधिक टोली उपचार सुरु गरेको हो ।
तर, भेडा मर्ने क्रम भने नरोकिएको किसानहरुले बताएका छन् । तिलम पुन, रामकृष्ण पुन र धर्म पुनको २ सय २५ बढी भेडाहरु मरेका छन् ।
यसैबिच भेडा मर्नुका कारणबारे जाँचका लागि नमूना क्षेत्रिय पशुरोग अन्वेशण प्रयोग शाखा सुर्खेत पठाईने विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए ।
साथै मरेको भेडाका पोष्टमार्टम गर्दा पाचन प्रणाली र स्वास्वप्रस्वासमा समस्या देखिएको पाईएको छ । डा. केसीका अनुसार फोक्सो र ठूलो आन्द्रामा घाउ भेटिएको छ ।
जीवित भेडाहरुमा संक्रमण फैलिन नदिन एन्टीबायोटिक औषधी चलाईएको समेत विज्ञ केन्द्रले जनाएको छ । तीन जना किसानका जनही ७५ वटाका दरले भेडाहरु मरेपछि चिन्तीत बनेका छन् । यसैबिच वडा कार्यालयका जनप्रतिनिधी सहित प्रहरीको टोली पनि घटना स्थलमा पुगेको छ ।
घोराही १९ का सदस्य जंग रोकासहित प्रहरीहरु घटनास्थल पुगेर मुचुल्का तयार पारेका छन् । मुलुल्काका आधारमा पीडित किसानलाइ राहतका लागि पहल गरिने सदस्य रोकाले जानकारी दिए ।