बुटवल-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटनले देशमा अर्को संकट थपिएको बताएका छन् ।
गणतन्त्र र धर्मनिरपेक्षता संकटमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि देशमा अर्को संकट आएको तर्क उनले गरे ।
विघटित संसद पुर्नस्थापना गर्नुपर्ने र त्यसका लागि दबाव सिर्जना गर्नुपर्ने उनले बताए। राष्ट्रिय जनमोर्चाले संसद विघटन, संघीयता, भ्रष्टाचारका विरुद्ध र गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको पक्षमा रुपन्देहीको सैनामैनामा आयोजित सभामा बोल्दै केसीले प्रधानमन्त्री ओलीले जनताप्रति विश्वास घात गरेको दावी गरे।
ओली, प्रचण्डबीच शक्ति र पद बांडफांडमा आपसी सहमति नमिल्दा देशमा राजनीतिक संकट उत्पन्न भएको अध्यक्ष केसीको भनाइ छ ।
उनले सरकारको गलत नीतिका कारण देशमा भ्रष्टाचार र कुशासन मौलाएको बताए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले संघीयताले देशमा भ्रष्टाचार, अनियमितता, कुसाशन बढेको उल्लेख गर्दै संघीयता असफल भएको दावी गरे ।
उनले राजनीति सेवामुखि नभएर कमाइ खाने भांडो भएकाले राजनेताहरुलाई जनताले घृणा गर्न थालेको बताउंदै राजनीतिक दलप्रति जनता रुष्ट भएको बताए ।
नेपालको भूगोल र जनसंख्यामाथि भारतीय हस्तक्षेप बढेकाले त्यसप्रति हुनुपर्नेमा जोड दिए । तराईका २० वटा जिल्ला पहाडबाट अलग गराउने दक्षिणको योजना अनुसार तराईका नेताहरुको सक्रियतामा तराईमा पर्ने आठवटा जिल्ला पहाडबाट अलग गराइनु नै भूगोल र जनतामाथिको हस्तक्षेप भएको अध्यक्ष केसीको भनाई छ ।
लुम्बिनी प्रदेश सांसद तारा जीसीले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताइन् । संघीय संरचना अनुसारका प्रदेश खारेज गर्ने बेला प्रधानमन्त्रीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको दावी गरिन् ।
सोही सभामा तराई– मधेश जनवादी मोर्चाका केन्द्रिय अध्यक्ष बद्रे आलम, नेकपा मसाल रुपन्देही प्रवक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसी, नरबहादुर थापा लगायतले बोल्दै भारतको बढ्दो हस्तक्षेप र राजावादीहरुको चलखेल बढेको बेला संसद विघटन हुंदा गणतन्त्र संकटमा परेको बताए ।
लालबहादुर क्षत्रीको अध्यक्षता र गणेश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो । संसद विघटन, संघीयता, भ्रष्टाचारका विरुद्ध र गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको पक्षमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यक्रम अनुसार रुपन्देहीको सैनामैनामा शुक्रबार समापन गरिएको छ ।