बुटवल–लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव फेरिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयनारायण ज्ञवालीको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सरुवा भएको हो।
यही मंसिर १८ गते बसेको नेपाल सरकारको मन्त्रीपरिषद बैठकले प्रमुख सचिव ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको छ।
बैठकले लुम्बिनीका प्रमुख सचिवसँगै प्रदेश २ का प्रमुख सचिव अर्जुन प्रसाद पोखरेल र नेपाल सरकारकै अतिरिक्त समुहमा रहेका सचिव गोकर्ण प्रसाद दुवाडीको पनि सरुवा गरेको छ।
दुवाडीलाई प्रदेश २ को प्रमुख सचिवको रुपमा खटाइएको छ भने पोखरेललाई अतिरिक्त समुहमा राखिएको छ। लुम्बिनी प्रदेशमा नयाँ प्रमुख सचिव को आउने भन्ने अझै जानकारी नआइसकेको मुख्यमन्त्री कार्यालयका सचिव नारायणप्रसाद दुवाडीले बताए।