विराटनगर – मोरङको मिक्लाजुंग गाँउपालिका १ बर्खेमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शिक्षक राजेन्द्रकुमार श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको भन्दै घटनाको जिम्मा लिए पनि सुरक्षा निकायले भने सुराकीकाे कुरा सत्य नभएकाे बताएका छन् ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले ५३ वर्षीय प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको विषयमा सुरक्षानिकाय गम्भीर चासोसहित अनुसन्धान भइरहेकाे जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले शिक्षकको हत्या अपराधमा संलग्नलाई प्रहरीले शीघ्र पक्राउ गर्न टोली परिचालन गरिएको जानकारी दिए।
घटनामा संलग्नले उन्मुक्ति नपाउने र अपराधीलाई उन्मुक्ति मिल्दैन भन्ने सन्देश सबैमा जाने हिसाबमा सुरक्षा निकाय खटिएको उनले बताए।
उनका अनुसार हाल घटनाको अनुसन्धानमा अनुभवी प्रहरीको टोली खटिएको छ। अर्कोतर्फ, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले २१ औँ शताब्दीमा हत्याको सहयोगमा राजनीति गर्न नहुनेमा जोड दिएका छन् ।
सरकारले प्रतिबन्ध लगाएको दलद्धारा भएको घटनापछि प्रदेश सरकार संघीय सरकारको समन्वयमा सो क्षेत्रमा सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरी चौकी स्थापना गर्नेतर्फ केन्द्रित रहेको मन्त्री कार्कीले जानकारी दिए।
तर, घटना भएको क्षेत्रमा स्थानीयमा भने त्रास बढ्दो छ । बर्खेका वडाध्यक्ष नरबहादुर राईले हात बाँधेर घाँटी रेट्दै विभत्स हत्या गरेको अवस्थामा शव भेटिएपछि गाँउ नै त्रसित बनेको बताए।
घटना भएको दुईदिन यता स्थानीय बासिन्दाहरु घर बाहिर निस्कन पनि डराइरहेको अवस्थामा रहेको वडाध्यक्ष राईले बताए।
यसअघि, स्थानीयले एक वर्ष अघि मिक्लाजुङको रमितेमा सुरक्षा पोस्ट स्थापना गर्न माग गरेका थिए। पटक–पटक स्थानीयले माग गरेसँगै प्रक्रिया अघि बढाइए पनि अहिलेसम्म सुरक्षा पोस्ट स्थापना भने हुन सकेको छैन ।
गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले नेपाल वा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट स्थापना गर्न माग गरिएको फाइल विभिन्न निकाय हुँदै गृह मन्त्रालयमा पुगेर अड्किएको बताए।
अध्यक्ष आचार्यका अनुसार सुरक्षाकर्मीको पहुँच पुग्न नसक्दा अपराधिक गिरोह चलाउने समूहलाई चलखेल गर्न सजिलो भएको र निहत्था शिक्षकको हत्यासम्मको घटना हुन पुगेको हो।
प्रदेश १ प्रहरी प्रमुख कार्कीको निर्देशनमा हाल मोरङ प्रहरी प्रमुख सन्तोष खड्का, प्रहरी नायब उपरीक्षकद्धय लोकदर्शन थापा, मानबहादुर राई र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको अलगअलग टोलीले चारैतिर सर्च अभियान चलाएर घटनामा संलग्नको खोजी गरिरहेको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले स्थानीयलाई सुरक्षा दिने र अपराधमा संलग्नको खोजी गर्ने काम भइरहेको बताए।
विप्लव समूहले घटना भएको बेलुका विज्ञप्ति जारी गर्दै सुराकी गरेको आरोपमा श्रेष्ठको हत्या गरिएको भन्दै घटनाको जिम्मा लिएको थियो।