बुटवल-सुत्केरीको उपचारमा लापरवाही भएको भन्दै आफन्तले विरोध जनाएपछि रुपन्देहीको देवदह मेडिकल कलेजमा तनाव भएको छ। तिलोत्तमा नगरपालिका १० कान्छीबजारकी ३१ वर्षिय राधा थारुलाई सुत्केरी गराउँदा लापरवाही भएको भन्दै आफन्तले विरोध जनाएका हुन्।
मंसिर १७ अस्पतालमा भर्ना भएकी उनको १८ गते अपरेसन गरेर बच्चा निकालिएको थियो । अपरेसन पछि उनको आइसियुमा उपचार भइरहेको मेडिकल कलेजले जनाएको छ ।
सुत्केरीका आफन्तले ३ दिनसम्म आफूहरुलाई बिरामीको अवस्थाबारे जानकारी नदिएको भन्दै आक्रोस व्यक्त गरेका छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विक्रम ज्ञवालीले अपरेसन गरेर बच्चा निकाले पनि पुन पाठेघरको अपरेसन गर्नुपरेकाले आइसियुमा राखेर उपचार भइरहेको बताए।
उनले आफूहरुले आफन्तहरुलाई विरामी बारे जानकारी दिइरहेको दाबी गरे। ‘सुरुमा नर्मल हुन्छ कि भन्ने लागेको थियो। सफल नभएपछि अपरेसन गर्नुपर्यो।’ डा. ज्ञवालीले भने ‘रक्तश्राव भइरहेपछि पुन अपरेसन गर्नुपरेको छ। अहिले आइसियुमा उपचार भइरहेको छ।’