अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला, पहिलो अश्वेत महिला तथा पहिलो आप्रवासी सन्तानका रुपमा इतिहास बनाएकी कमला ह्यारिसले सम्भावनाको सुरुवात भएको बताएकी छन् ।
डेलवरको विलमिङ्गटनमा जित पछिको पहिलो सम्बोधनमा उनले उपराष्ट्रपतिमा निर्वाचित हुने आफू पहिलो महिला भए पनि अन्तिम नहुने बताएकी छन् ।
उनले कायम रहेको संस्थागत रंगभेद अन्त्य गर्नका लागि काम गर्न बाँकी रहेको र त्यसको सुरुवात भएको बताइन् ।
उनले जो बाइडेनले आफूलाई उपराष्ट्रपतिका रुपमा चयन गरेर शताब्दियौँदेखि रहँदै आएको अवरोधलाई चिरेको उल्लेख गरिन् । उनले उपराष्ट्रपतिका रुपमा बाइडेनलाई सहयोग गर्न हरेक दिन तयार रहने बताइन् । बाइडेन ‘हिलर’ रहेको बताइन् ।
उनले सम्बोधनमा आफ्नी आमा समला गोपालन ह्यारिसको स्मरण गरिन्, जो १९ वर्षको उमेरमा भारतबाट अमेरिका गएकी थिइन् ।