गुल्मी-गुल्मी दरबार गाउँपालिका ७ स्याउला पानीका तीन घर परिवार पहिरोको कारण बिस्थापित भएका छन् ।
स्थानीय अमर बिक, मुना बिक र फुलमती बिकको टिनले छाएको २ तले कच्ची घर पहिरोको उच्च जोखिमा भएकाले बिस्थापित भएको प्रहरी सहायक निरिक्षक केशवराज रेग्मीले जानकारी दिए । पहिरोको जोखिममा परेका तीन घरमा १४ जनालाई नजिकैको हुलाकको भवनमा सारिएको रेग्मीले बताए ।
त्यस्तै सत्यवती गाउँपालिका ६ खैरेनीका टेक नारायण श्रेष्ठको टिनले छाएको गोठ अचानक भत्किदाँ एउटा पाडोको मरेको छ भने एउटा भैंसी र एउटा पाडो घाईते भएका छन् ।
सत्यवती गाउँपालिका ३ गेजा बस्ने वलबित तरामुको कच्ची गोठ भत्किदाँ एउटा भैसीको मरेको प्रहरीले जनाएको छ । सत्यवती गाउँपालिका ५ नेटाकी वस्ने तुल्सी थापाको घर पहिरोले जोखिममा परेको छ ।
उनको टिनले छाएको २ तले कच्ची घर जोखिममा परेपछि छिमेकी एकनाथ ढकालको खाली गोठमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक केदारराज पन्तले जानकारी दिए ।
त्यस्तै छत्रकोट गाउँपालिका ५ आमपोखरी बस्ने लालकुमारी घर्तिको परिवार पहिरोको कारण बिस्थापित भएको छ । उनको टिनले छाएको एक तले कच्ची घर माथि बाट पहिरो आएर जोखिममा परेपछि ५ जनाको परिवार स्थानीय राजेन्द्र ज्ञवालीको घरमा स्थानान्तरण गरिएको पन्तले बताए ।
साथै सत्यवती गाउँपालिका ६ बाँंसपाटा बस्ने ठानेश्वर भुसालको घर गोठ पहिरोको जोखिममा परेको छ । भुसालको ढुङगा माटोले बनेको ३ तले टिने घर र गोठ जोखिममा रहेकोले ६ जनाको परिवार बिस्थापित भएको प्रहरी नायव उपरिक्षक पन्तले बताए ।