बुटवल-प्रदेश ५ मा आइतबार एकैदिन २ सय ५ जना आइसोलेशनबाट डिस्चार्ज भएका छन्। योसँगै प्रदेशमा संक्रमणमुक्त हुनेहरुको संख्या ६ हजार ६ सय ८८ पुगेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले दैनिक प्रेस ब्रिफिङमा बताए।
उनका अनुसार प्रदेश ५ मा आइतबार थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका ७० जनासहित प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ९ हजार १ सय ५५ पुगेको छ।
रुपन्देहीमा २३, बाँकेमा २६, रुकुमपूर्व ८, पाल्पा ४, नवलपरासी पश्चिम ३, बर्दिया र दाड.मा २, कपिलवस्तु र अर्घाखाँचीमा एक/एक जनामा कोरोना पुष्टि भएको उनले बताए।
संक्रमितमध्ये २ हजार ३ सय ३९ जना प्रदेशका विभिन्न अस्पताल र आइसोलेशन तथा होम आइसोलेशनमा रहेका छन्। तीमध्ये २ सय ३८ जनामा लक्षण देखिएको छ।
संक्रमितमध्ये ६ सय ३६ जना होम आइसोलेसनमा रहेका छन्। कोरोना भाइरसको संक्रमणका कारण आइतबारसम्म प्रदेश ५ मा ५६ जनाको मृत्यु भएको छ।